add
विचार विशेष शीर्ष खबर स्थानीय खबर

मैले नमनाएको होली

राजेन्द्र गौतम
बुधबार काठमाडौँ उपत्यका र पहाडी जिल्ला तथा बिहीबार तराईका जिल्लामा धुमधाम होली मनाइयो । रङ मनखुशी खन्याइयो । विभिन्न पहिरन र नक्कली कपाल लगाएर होली खेल्नेको संख्या पनि कम थिएन । आफ्नो स्वरुप नै परिवर्तन गरेर होली खेल्नुको मज्जा नै अर्कै रह्यो । पुरानो ‘इगो’लाई सद्भावमा बदलियो । सप्तरंगी रङले हरेकको तन रंगियो । तर,यस पटक मैले होली मनाइनँ,रंङ दलिनँ ।

बिहीबार बिहान ६.३६ बजे मेरो मोबाइलमा घण्टी बज्यो । बिर्तामोड–१० कि वडा सदस्य दिपिका शिवाले बोलिन्,‘ दाई होलीको शुभकामना !’ उनले निम्ता पनि गरिन् । भ्याउनु भयो भने १० नम्बर वडा पनि आउनु है । मैले भ्याए आउने जवाफ फर्काए पछि उनलाई शुभकामना सँगसँगै विशेष गरेर स्थानीय महिला दिदी बहिनी मिलेर होली खेल्न सुझाएँ पनि । अरु फोन शुभकामनाका कम आए । अहिले सामाजिक सञ्जालको अधिक प्रयोग बढेकाले फोन गरेर शुभकामना दिने क्रम घटेको छ । फेसबुक,ट्वीटर लगायतमा संगीतमय शुभकामना पनि प्रसस्तै पठाउनु भयो मित्रहरुले । मैले हेरेँ र कसैलाई शुभकामना फर्काइनँ । रिसले त्यसो गरेको होइन ।कोही मित्रलाई त्यस्तो लागेको छ र रह्यो भने क्षमा प्रार्थी छु । तर,यस पटकको होलीमा मैले म प्रतिकै प्रयोग गर्नु थियो । त्यही प्रयोग मैले गरेँ र होली खेलिनँ ।

मैले नखेलेको होली कस्तो होला मलाई जाँच्नु थियो । साँझ ५ बजे पछि होली खेल्ने क्रम रोकिए पछि मैले केही निकटवर्ती अग्रज र साथीहरुलाई फोन घमाएँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई ६.२३ मा फोन गरेँ तर उठेन । कतिपय अवसरमा विश्वदाईले आफैँ फोन गरे शुभकामना,बधाई दिनुहुन्थ्यो । यस पटकको होलीमा होली नमनाउने थाहा पाएर होला उहाँले मलाई शुभकामना दिनु भएन । नभ्याएर पनि हुन सक्छ । यति चाहिँ भनौँ विश्व दाई फोनबाट शुभकामना दिन नपाए पनि आलेख मार्फत शुभकामना ! गृह जिल्ला आए पछि पुरानो पत्रिका खोजेर भए पनि पढ्नु होला ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई दाईले सानो कुरामा पनि मलाई निम्ता गर्नु हुन्छ । ज्वाईँ भनेर सम्बोधन गर्ने उहाँको पारिवारिक साइनो होलीका दिन मलाई लागेन । मैले उहाँलाई साँझ ६.२० बजे फोन गरेँ र होलीको शुभकामना भनेँ । उहाँले आफू दिनभर व्यस्त रहेको र घरमा पुगेको बताउनु भयो । भन्नुभयो,‘आहा ! के भयो बिर्सेछु,छुटाउन खोज्या होइन्,तपाईलाई कहीँ न कहीँ जोडेर हिँड्न मन छ तर कहिले काहीँ के हुन्छ हुन्छ ।’ मैले सम्बाद छोट्याए र भने,‘दाईले बिर्से पनि मैले सम्झेँ शुभकामना !’

युनिकम नेपालका अध्यक्ष गजेन्द्र पोडेलले मलाई निम्ता नदेको सायदै कार्यक्रम होला । दिउँसो चिया खानु प¥यो भने पनि भाई चिया खान आउ भन्ने मान्छे फगुवाको दिन मलाई बिर्सने गरी व्यस्त हुनु भएछ । मैले साँझमा फोन गरेँ शुभकामना भनेँ । उहाँ अपसोच मान्दै जवाफ फर्काउनु भयो,‘ला ! भाई तिमीलाई कहीँ देखिनँ,भर्खर घरमा आइपुगेँ ।’ बिर्तामोडका थुप्रै ठाउँमा होली खेलेर जमघट र रमाइलो गरी घर पुग्नु भएको उहाँले भन्नु भयो,‘नरिसाउ है बोलाउन बिर्सेछु ।’

कांगे्रस ३ नम्बर क्षेत्रीय सभापति नविन विमलीलाई साँझ ६.४६मा फोन गरेर मैले बधाई दिए पछि उनी छुक्छुकाएँ । जिम्मेवारीको हिसाबले नविन पार्टी सभापति भए पनि म भाई भनेरै सम्बोधन गर्छु । होलीको शुभकामना भने पछि नविनले भने,‘दाई कहाँ?भेटुम्् दाई ।’ उनले पनि अपसोच नै व्यक्त गरे ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष धनश्याम अधिकारीलाई मैले शुभकामना दिन ६.५५ मा फोन गरेँ । तर,उहाँको फोन उठेन । २ दिन पछि भए पनि पत्रिकामार्फत शुभकामना ! धनश्याम जी हरेक कार्यक्रममा मलाई खोज्नु हुन्छ । कार्यक्रम शुरु हुन ५ मिनेट समय मात्रै बाँकी हुँदा पनि फोन गरे जसरी पनि आउन भन्नुहुन्छ । यो उहाँ र मेरो बीचका प्रगाढ सम्बन्धको कडी हो । तर, होलीको दिन व्यस्त भएरै होला मेरो फोन नउठे पछि मैले उहाँलाई शुभकामना भन्न सकिनँ लेखेरै शुभकामना !

नेपाल शिक्षक संघ झापाका सचिव योगेन्द्र पौडेल मेरो सहह्रदयी भाई हुन् । सामान्य कार्यक्रममा पनि फोन गरेर दाई आउनु भन्ने उनले होलीको दिन शुभकामना भन्न बिर्से पछि मैले ६.२५ मा फोन गरेँ र शुभकामना भनेँ । उनलाई पनि बिर्सेकोमा बडो दुखेसो रहेछ । ‘दाई तपाईंलाई नै फोन गर्न लाग्दै थिएँ,फोन आयो मेरो पनि शुभकामना है दाई ।’ उनले कार्यक्रमको निम्तो समेत दिन भ्याए । उनले भने,‘दाई भोलि दिउसो(शुक्रबार) १२.३० बजे कार्यक्रम छ ,भद्रपुर आउनु है ।’झापामा पहिलो पटक सञ्चालन भएको युवा संसद स्थापना संसदीय व्यवस्था सञ्चालनको समापन कार्यक्रम जिल्ला समन्वय समितिमा हुने उनले बताए । म कार्यक्रममा जान नसके पनि उनको निम्तो आयो । जिल्लामा भएको यो राम्रो कार्यक्रम हो । उनलाई यस्ता अरुहरु कार्यक्रम संयोजन गर्ने अवसर मिलोस्,शुभकामना !

मैले सहकर्मी भाई सन्तोष शर्मा र बहिनी कल्पनालाई फोनबाटै शुभकामना भनेँ । साँझपख सन्तोषलाई होली मनाउन बोलाउने उद्देश्यले फोन गरे पनि उनी भद्रपुरमा रहेछन् । बिर्तामोड ढिलो गरेर आउने सुनाएका उनले अरु नै कुनै दिन रमाइलो गर्ने बताए । उनलाई मैले लेख मार्फतै रमाइलो गर्ने समय थाती रोखेको जानकारी दिन्छु । मेरा आत्मिय भाई जीवन राईले बिहान १०.९ बजे फोन गरेर शुभकामना भने मैले पनि शुभकामना फर्काए । उनी इलाम गएको र साँझ फर्के पछि होलीको रमाइलो गर्ने कुरा भयो त्यो पनि थाती नै छ ।

मेरा मिल्ने साथी ओमप्रकाश श्रेष्ठ हरेक कार्यक्रममा मलाई निम्ता दिने व्यक्ति हुन् । उनलाई मैले साँझ ६.३० मा फोन गरेँ र शुभकामना भने । उनी पनि झस्किए । मलाई भने,‘ आउनुस् म सैनिकमोडमा छु ।’ मैले होली नमनाउने जवाफ फर्काए पछि उनले पनि फोन राखे ।

मैले होलीलाई पारिवारिक र सद्भावपूर्ण बनाउने योजनाले रङ नदलेको हो । म परिवारका साथ मेरा कर्मपिता मातालाई भेट्न लागे पछि बिर्तामोडमा जमघट हुन नसकेको चाहिँ मैले बिर्सन हुँदैन । मलाई रङ होइन अक्षताको टिका लगाइ दिएर कर्मपिता तीर्थराज वशिष्टले व्यक्त गरेको सद्भाव युगौँसम्म सद्भावपूर्ण होली बन्न सक्ने छ ।

यो सम्वाद नबोलाएकोमा चित्त दुखाइको हुँदै होइन । जो जतिसँग कुरा भया,आत्मियताका साथ भयो । होलीको सद्भाव कति प्रगाढ हुँदो रहेछ भन्ने मैले नमनाएको होलीले प्रमाणित गरेको छ । मलाई फोन नआउँदा जति न्यास्रो लाग्यो थुप्रै मन मिल्ने मान्छेहरुको बीचमा शुभकामना आदानप्रदान अवश्य नै हुन सकेको छैन । उहाँहरुलाई सद्भाव साट्न नपाएकोमा खिन्नता होला,होली साच्चै सद्भावको पर्व हो । त्यसैले खिन्नताभन्दा पनि आगामी होली सबैलाई स्मरण गर्ने र सद्भाव साट्ने बन्न सकोस् । यो आलेख मार्फत सबैमा त्यही भाव व्यक्त गर्दै आगामी वर्षको होली सद्भावपूर्ण बन्ने विश्वासका साथ शुभकामना !

Facebook Comments