add
शीर्ष खबर समाज

उर्लाबारीमा भान्सा कोठामा सामुहिक बलात्कारः ६ जना पक्राउ

उर्लाबारी, ९ चैत । मोरङको उर्लाबारीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । मादक पदार्थ सेवन गराएर ती युवतीमाथि सामूहिक बलात्कार गरिएको हो ।

आफूमाथि सामूहिक बलात्कार भएको दाबी सहित २७ वर्षीया युवतीले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारमा सम्लग्न एक युवा फरार छन् ।

सामूहिक बलात्कार गरेको अभियोगमा उर्लाबारी–४ का २७ वर्षिय दुर्गा शिवाकोटी, ३३ वर्षिय सुरेश राई, २२ वर्षिय बालकृष्ण खड्का, २० वर्षीय पपिन राई र २८ वर्षिय रिठ्ठे भन्ने लोकबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कारमा सम्लग्नमध्ये ३० वर्षीय देवेन्द्र लिम्बू फरार रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए ।

फरार देवेन्द्रको घरको भान्सा कोठामा फागुन २८ गते राति ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । अभियुक्तहरु विरुद्ध जर्वजस्ती करणी ऐनअन्तर्गत मोरङ जिल्ला अदालतमा प्रहरीले मुद्दा दर्ता गरेको छ ।

दश दिनअघि मात्र १३ वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको अभियोगमा मोरङ, उर्लाबारी–३ मंगलबारेका २५ वर्षिय चन्द्रमणी आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो ।

आचार्यले आफ्नै घरमा लगेर ती बालिकालाई पटक पटक करणी गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक तिमिल्सीनाले बताए । बालिका माथि जर्वजस्ती करणी गर्ने आचार्यविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

Facebook Comments