बिर्तामोड, ११ चैत । डाटसन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले तीनवटा मोडलहरु बजारमा ल्याएको छ । डाटसनको ‘गो’, ‘गो ए ओ’ र ‘गो टी ओ’ नेपाली बजारमा उपलब्ध रहेको पायोनियर मोटोकर्पले जनाएको हो ।
पायोनियर मोटोकर्पले गाडीको खरिद मूल्यसमेत सार्वजनिक गरेको छ । न्यूनतम मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको यो गाडी मुलुकका १३ वटा स्थानमा पाइने बताइएको छ । बिर्तामोडको भद्रपुर रोडस्थित केशरीचन्द भन्वरलालले यो गाडीको बिक्री गरिरहेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गाडीको उद्घाटन गरे । केशरीचन्द भन्वरलाल डाटसन तथा निशान गाडीको आधिकारिक विक्रेता हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्का तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होमप्रसाद अधिकारीको समेत उपस्थिति थियो ।
डाटसन गो गाडीमा अभूतपूर्व विशेषताहरु रहेको केशरीचन्द भन्वरलालका प्रवन्ध निर्देशक रोनक वंशलले बताए । कारले जापानिज प्रविधियुक्त इञ्जिन, इन्धन किफयती, बस्नका लागि धेरै स्पेश तथा सुरक्षाजस्ता पक्षको प्याकेज प्रदान गरेको उनले बताए । गाडीमा २८ वटा विभिन्न विशेषता तथा सयभन्दा बढी अपडेट रहेको बताइएको छ । गाडीले प्रतिलिटर १९.८३ किलोमिटर माइलेज दिने केशरीचन्द भन्वरलालका तीर्थराज अधिकारीले बताए ।
केशरीचन्द भन्वरलालले आफ्नै सर्भिस सेन्टरसमेत स्थापना गरेको छ । चारपानेमा आइतबारबाट सुरु भएको सर्भिस सेन्टरमा निशान तथा डाटसनका गाडीको मात्र सर्भिस गरिने बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।