चितवन, २८ चैत। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताउनु भएको छ । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको आज उद्घाटन गर्दै उहाँले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताउनुभयो ।
राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले भन्नुभयो, “पञ्चायत विरोधी आन्दोलन भनाँै या २०६२÷६३ को आन्दोलन, शान्ति प्रक्रिया, शान्ति सम्झौता यी सबै राष्ट्रिय सहमतिबाटै सम्भव भएको हो ।” उहाँले थप्नुभयो, “सङ्घीय गणतान्त्रिक लोकतन्त्र पनि राष्ट्रिय सहमति र सम्झौताबाटै भएको हो ।”
विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको भन्दै उहाँले आम नेपालीले खोजेको उत्पादन वृद्धि र रोजगारीको सृष्टि गर्ने, देशभित्रै आर्थिक विकास एउटा नयाँ युगतिर लैजाने कुरा नै सबै नेपालीको चाहना भएको बताउनुभयो ।
उहाँले विदेश जाने नेपालीलाई शक्तिशाली सन्देश यस फनपार्कले प्रवाह गर्ने बताउनुभयो । युवाले आँट्यो भने एउटा सामान्य रेष्टुरेण्टबाट राष्ट्रियस्तरमा लगानी प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण उद्योग बन्न सक्ने उदाहरण फनपार्कले दिएको उहाँले उल्लेख गर्नुभयो ।
नारायणगढबाट भेटघाट रेष्टुरेण्टको नामबाट तास व्यापार शुरु गरी राष्ट्रिय महत्व राख्ने पर्यटक प्रवद्र्धन गर्न सक्ने पार्क निर्माण गरेकामा सञ्चालक गोविन्द तिवारी, महेश तिवारीसहितको सञ्चालक समूहप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अध्यक्ष दाहाललाई सम्बोधन गर्दै मुलुक अप्ठ्यारो अवस्थामा रहेको भन्दै विपक्षीहरुलाई पनि सँगसँगै समृद्धितर्फको यात्रामा लैजान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सकारात्मक प्रतिपक्षको भूमिका खेल्न चाहन्छौँ, हामीलाई साथ लिएर गए मुलुकमा समृद्धि आउँछ ।”
कोइरालाले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रबाट भेटघाट समूहको प्रवद्र्धनमा फनपार्क सञ्चालनमा आएकामा यसले समग्र जिल्ला र देशको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी, उद्योग वाणिज्य सङ्घ चितवनका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, फनपार्कका सञ्चालक डा निभा तिवारी, महेश तिवारी लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा दाहालले फनपार्कको उद्घाटन गर्नुभयो भने कोइरालाले फनपार्कको दोस्रो परियोजना चितवन आई टावरको शिलान्यास गर्नुभएको थियो । रु २५ करोडभन्दा बढीको लागतमा भेटघाट समूहले एक सयभन्दा बढी खेल समावेश गरी पार्क निर्माण गरेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।