add
विचार विशेष

सुदूरपश्चिमेलीको नजरमा प्रदेश नम्बर एक

मन्जु मिश्र
नेपाल सानो छ भनेर कितावमा पढ्दै आएको भएपनि नेपाललाई सर्सती एक फन्को लगाउन भने पाइएको थिएन । मेची–महाकाली भएर छरिएर रहेको नेपालको पश्चिम सिमानामा जन्मिएर यत्रो उमेर भैसक्दा मेची चाहिँ कस्तो हुन्छ भन्ने कल्पनाको चित्रमात्र देख्ने गरेको मेरो आँखाले यसपटक भने प्रदेश नम्वर एक देख्ने मौका पाए अर्थात कोशी पारी । १४ अंचल ७५ जिल्ला भनेर चिनिएको नेपाल अहिले सात प्रदेशमा बाडिएपछि भएपनि मेरा लागि प्रदेश नम्बर एक भन्न चाहिँ मेची अञ्चलमात्र हो । हामी उता हँुदा पूर्वेलीलाई ‘मेचीवाला’ भन्ने गर्छौ ।

मन्जु मिश्र

सुदूुरपश्चिीमेलीहरु ठाडो भाषामा यताका मानिसलाई मेचीवालानै भन्ने गर्छन् ।
म काठमाण्डौँ बसेर पढ्दा एउटी बहिनीले मलाई सारै माया गरेर भनिन् ‘विचरा दिदी त सुदूरपश्चिमको पो हुनुहुदोरहेछ, यति टाढा बाट कसरी आई पुग्नु भयो ? तपाईका बुवाआमाले तपाईलाई काठमाण्डौ पढ्न पठाए है ?’ उनको घर दमक थियो आज म यही दमकमा बसेर यो आलेख तयार गरिरहँदा उनलाई झलझली सम्झिरहेकी छु । यता आएपछि केही मानिसहरुसँग परिचय हुँदा म पश्चिमवाट आएकी भनेपछि एकछिन घोरिएर हेरेका आँखाहरु मानसपटलमा कुदीरहेका छन् । अझै कतिले त यति टाढाबाट एक्लै आयौँ भनेर गम्भिर प्रश्न समेत गरे । म नाजवाफ छु, मैले प्रतिवाद गर्न सकिरहेकी छैन । म जम्मा जम्मि चौविस घण्टाको बसको यात्रा तय गर्नुलाई यतिलामो दूरी नै हो भनेर भन्न चाहदिन । किनकी मलाई थाह छ नेपाल सानै छ ।

पूर्व जस्तो पश्चिम छैन, उता धेरै विकास छ, प्राय पूर्व पुगेकाले यता लाने सन्देश यहि हो । उताका मान्छे अलिक पढेलेखेका छन्, कामकाजी छन्, समाज राम्रो छ । यस्ता प्रतिक्रियाहरु सुदूरपूर्वका बारेमा पश्चिमेलीहरुले धेरैले सुनेका छन् । उसो त ‘झापाली जहाँ गएपनि गफैले राज गर्छन्’ उता हामी पूर्वेलीहरुका लागि सोच्ने गर्छौ । उता अलिक धक मान्ने प्रचलन छ स्वभावैले । तैपनि यहाँ आईपुगेपछि मेरो विवेकले भ्याएसम्मको तुलना भने मैले मनमनै गरीरहेकी छु, ति यस्ता छन् ः

१. विकासको चहलपहल ः नेपाल एकदमै विकसित काहीपनि छैन । यहाँ पनि बन्दैछ उतापनि विकास निर्माणले गति लिइरहेकै छ । विकासको कुरा गर्ने हो भने अहिले जहाँताही बाटोनै बनिरहेको छ । अचेल डोजर र जेसिवी यत्रतत्र देखिन्छन् । सडक धुलाम्मे, सहर धुलाम्मे । बिराटनगरमा धुलोले सास फेर्न दिदैन, उता धनगढी –अत्तरीया बाटोको खुव सास्ती छ । लामा र फराकीला सडकहरुको डिपिआर गर्ने देशैभर लहर छ । बुटवल भैरहवामा पनि त्यस्तै अस्तव्यस्त धुलो । हाम्रा लागि धुलो जिवनशैलि बनिसकेको छ । विदेशमा जस्तो एकै रातमा वा मान्छेले सास्ती नभोगी कनै सजगताकासाथ विकास निर्माण गर्ने हाम्रो न निती छ न प्रविधिनै । इन्टरनेट यतापनि प्राईभेट कम्पनीको भर हो । नेटको तार चुडिएको तीन दिन बित्दा पनि मर्मत गरीदिने मान्छे आईपुगेको छैन् । व्यावसायीक आचरणले पनि विकासमा प्रभाव पार्छ । अनुसासन हीन विकासमा सुदूरपश्चिमकै प्रवित्ति देखियो ।

२. मौलिकता ः पूर्वमा चिटिक्क परेका काठका घरहरु, बास र चित्राको प्रयोग खूव हुन्छ । खेती पाती, नरिवल र सुपारीका रुख घरै पिच्छे हन्छन्, मालपुवा र सेलरोटीहरु पकाउन जोकोहीलाई आउछ । उता जे खाएनि पिठो खाने भनेर पश्चिमेहरुलाई हेपेरै बोल्थे कहिलेकाही जानेहरु । तर यता आए पछि सुपारी र नरिवलका रुखहरु मासिदै गएको बरु ति रुखलाई असोक र अन्य घर सजाउने रुखहरुले बिस्थापित गरेको, कच्ची घरहरु कंक्रीट घरले बिस्थापित गरेका, सबैको लक्ष्यनै एक दुईतले घर बनाउनै रहेको । बोलीचाली र खानपानमा विदेशी स्वाद गासिन थालेको जस्तो । लगभग मैले जति घरमा कुराकानी गरे त्यति जतिनै घरका कोही न कोही सदस्यहरु विदेशिएका पाइए । गल्फ देखि यूरोप अमेरीका । उता उतिसारो अन्य मुलूक जाने गरेको छैनन् । धेरै जसो सुदूरपश्चिीमेलीहरु भारतका सहरमा रोजगारीका लागि जाने गर्छन् । यता जस्तै उतापनि प्राय हरेक परिवारमा कोही न कोही भारत गएकै छन् । अचेल तेश्रो मुलूक पनि जाने प्रचलन बढेको छ । उताको मौलिकतामा भारतको निकै प्रभाव छ । कतिपय मानिसहरु आफनो बोलीमा हिन्दी लवज मिसाउछन् । हिन्दी सिनेमा, इण्डीयन लत्ताकपडा आदि इत्यादि । पूर्वका मानिसहरु पश्चिमेहरु बोलेको सुनरे भने खूवै हास्ने गर्छन् । अझै बैतडी दार्चूलालगाायतका पहाडीहरु बोलेको त बुझ्दै बुझदैनन् । उताकालाई पूर्वेलीहरुको भाषा झ्याउरे लाग्छ । ठाडो लाग्छ । यता आमा वुवालगायत मान्ने गन्ने जसलाई पनि नमस्कार गर्दा सकियो उता भने नाता अनुसारको ढोग नमस्कार चल्छ । अझ रैथानेहरु नमस्कारनै गर्दैनन् अरुनै तरिकाले ढोग दिने गर्छन् ।

३. व्यभाहार ः भन्ने गरिन्छ जेष्ठ नागरिकहरु प्रति देखाउने सम्माननै अनुशासनको प्रतिक हो । म इटहरीबाट विर्तामोड आउदै गर्दा बाटोमा एक जना वृद्ध नागरिक गाडीमा चढे । गाडी भाडा माग्दै बसका सहचालक आइपुगे । ति बाले जेष्ठ नागरिक कार्ड देखाउदै भाडामा आफूलाई सोही अनुसारको सहुलियत दिन आग्रह गरे, सहचालकले अत्यन्तै कठोरता पूर्वक ति वृद्ध मानिसलाई जवाफ फर्काए, ‘कुन दिन देखि म बुढाहरुलाई देखेभने गाडी रोक्दिन होला । कोइपनि भाडा दिनै खोज्दैनन्, खुरुक्क पुरा पैसा दिनोस् होइन भने झर्नुस ।’ ति बाले निकै आग्रह गरे, सरकारले कार्ड बनाइदेर सहुलियत दिने भनेपछि प्रयोग गर्न लाज लाग्दैन भन्ने कुरा गरे । प्रतिउत्तरमा ति सहचालकले भने सरकारले तिमीहरुलाई पो कार्ड बनाइदियो त हामीलाई पेट्रोल निःशुल्क दिदैन । अरु जसले दिन्छन् उतै जाउ तर मेरोमा म दिन्न । यो सम्वाद अत्यन्तै कठोर थियो र नेपालमा सरकारले दिएका सुविधाहरु प्रयोगगर्न कति हम्मे हम्मे पर्छ भन्ने कुराको उदाहरण पनि थियो यो । विनाकुनै तयारी विना कुनै सरसल्लाह सरकारले हचुवाको तालमा गरेका निर्णयहरु कार्यान्वयन गर्न यस्तै कठिन हुन्छ । सरकारले गरेको निर्णयलाई सर्हस स्वीकार गरी सम्मान गर्ने व्यवसायीहरु दुर्लव भेटिन्छन् नेपालमा ।

यो रोगले देश गांजेको छ । यातायातमा एकदमै वार्गेनिङ् गर्ने प्रचलन छ हाम्रोमा । निश्चित दररेट तोकिएको भएपनि यात्रुले कम दिन खोज्ने र सार्वजनिक यातायातमा जति पनि भाडा असुल गर्ने । अरु देशमा जस्तो बिहान एउटा टिकट काटेपछि दिनभरी त्यही टिकट देखाएर यात्रा गर्ने हाम्रो परिपाटी छैन । सार्वजनिक यातायात भन्दा धेरै निजी सवारीसाधन चल्ने र मनपरीको सिण्डीकेटका कारण एउटा टिकटले दिनभरीको काम गर्ने व्यस्था यहाँ सोचिएको छैन् ।

हुनत पूर्व जतिनै अगाडी भएपनि संघीयता कार्यान्वयन हुन आएको यतिका समय बितिसक्दा पनि आफनो प्रदेशको नामसमेत जुराउन सकेको छैन् । कमसेकम यस कुरालाई सुदूरपश्चिम प्रदेशले उछिनी सक्यो । राजधानी, प्रदेश कानुन आदिका हिसावले उताले जितिसक्यो । हामी उताका मानिसहरु धेरै जति कुराहरुमा नकारात्मक प्रतिक्रिया देखाउनु परेमा ‘नाई’ भनेर भन्ने गर्छौ । यताको बोलिचालिमा हौ… भनेर लामो लेघ्रो तान्ने हुँदोरहेछ । जहाँ जे जस्तो भएपनि यो पुरा देश नेपाल हो । हामी सबै नेपाली हौँ रहनसहनले अलग बाहेक भावनाले हामी एउटै हुनुपर्छ । एउटै हौ पनि । मेचिलाई पनि महाकालीको माया लाग्नु पर्छ । महाकालीलाई पनि मेचि आफ्नो लाग्नु पर्छ । अनिमात्र हामी एउटै नेपाली भनेर गर्व गर्ने हुन्छौँ ।
(पूर्वतिर बरालिदा –१)

Facebook Comments