सान नेपाल
गौरीगञ्ज, ३ बैशाख । मुलुक गणतन्त्रमा प्रवेश गरेसँगै ओझेलमा परेका जातीय चाड पर्वहरु महत्वका साथ मनाउने क्रम बढेको छ । सिरुवा पर्व कोच समुदायको निकै महत्वपूर्ण पर्व हो । पूर्वी तराईमा मनाइने कोच पर्वले हिजो–आज गौरादह र गौरीगञ्ज क्षेत्रलाई रोमाञ्चित बनाइरहेको छ । नयाँ वर्षको शुरुवातसँगै मनाइँदै आएको सिरुवा पर्व ३ दिनसम्म मनाउने गरिन्छ । कोच समुदायका मानिसहरुले कुल देवताको पूजा गरी पानी, काद र रङ सिरुवाको रुपमा मनाउने गरिन्छ ।
घर परिवार, आफन्त, नातागोता, कुलकुटुम्बहरु एकै ठाउँ भेला भएर मिठामिठा परिकारका साथ मनाइने यो पर्वको महत्व कोच समुदायभन्दा बाहिर समेत लोकप्रिय बन्दै गएको पाइएको छ । परिकारको स्वादमा रमाउँदै मनाइने भए पनि हिजो–आज सिरुवा पर्वलाई सामूहिक रुपमा मनोरञ्जनका कार्यक्रमहरुलाई समेत समेटेर सिरुवा पर्व मनाउने प्रचलन सुरु भएसँगै यसको लोकप्रियता बढेर गएको देखिन्छ ।
सिरुवा पर्वको अवसरमा आदिवासी समुदायहरुले महाराज थानमा मेला समेत लगाउने गरेका छन् । महाराज थानमा देवताको पूजा गरी भाकल अनुसारको सामग्री चढाई मनोकांक्षा पूरा हुने विश्वास रहेको गौरादह–६ का मंगलु राजवंशी बताउँछन् । सिरुवा पर्वको पहिलो दिन पानी सिरुवा मनाइँयो भने दोस्रो दिन तराइका विभिन्न स्थानमा हिले माटो छ्यापाछ्याप गरी काद सिरुवा पर्व मनाइएको छ । आज अर्थात् तेस्रो दिन रङ सिरुवा मनाइँदै छ ।
विशेषगरी पूर्वी झापा, मोरङ सुनसरी, सप्तरी, सिरहा, उदयपुर लगायत जिल्लामा आज सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ । तराईमा बस्ने आदिवासी समुदायहरु, राजवंशी, थारु, मेचे, ताजपुरिया, गनगाई र माझी लगायतका समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । नयाँ वर्षसँगै शुरु हुने पर्वका अवसरमा हिजो झापाका कोेच समुुुुदायले काद सिरुवा खेल्दै मनाए । माटोको हिलो बनाएर आपसमा सिरुवा पर्वको शुभकामना आदानप्रदान गर्दै हिलो छ्यापा–छ्याप गरेर ‘काद सिरुवा’ खेल्ने गरिन्छ । माटो बिना जीवन चल्दैन भन्दै कोच समुदायले माटोको सम्मान स्वरुप काद सिरुवा खेल्ने गरेको पूर्व गृहराज्य मन्त्री भीमराज चौधरी राजवंशीले बताए ।
लगातार तीन दिनसम्म मनाइने सिरुवा अन्तर्गत सो समुदायले आज रङ सिरुवा खेल्दै छन् । सिरुवा पर्व मनाउने क्रममा गौरीगञ्ज गाउँपालिका–६ को खजुरगाछीमा आदिबासी समुदायद्वारा सामुहिक रुपमा काद सिरुवा मनाइएको छ । आदिवासी समुदायहरुले खजुरगाछीको गौरीयाडाँगीदेखी गौरीगञ्ज चोकसम्म ¥यालीसहित शोभा यात्रा निकालिएको थियो । शोभा यात्रापछि गौरिया खोलामा यात्रा बिसर्जन गरी घाटोसरी पूजा गरिएको स्थानीय बिजय चौधरीले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।