सन्तोष शर्मा
बनियानी, ३ बैशाख । हात्तीको उपद्रवबाट आक्रान्त दक्षिणी झापाबासीले अब राहत पाउने भएका छन् ।
झापाको हल्दिबारी र कचनकवलस्थित जलथल चारकोशे जंगलमा विद्युतीय तारवार गरिने भएपछि यहाँका बासिन्दाले राहत पाउने भएका हुन् । नेपाल सरकारको प्रकृति संरक्षण कोष अन्तरगत रू ६ करोडको लागतमा जलथल चारकोशे जंगल क्षेत्रको करिब ४५ किलोमिटर क्षेत्रमा तारवार गर्न लागिएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
उहाँका अनुसार हल्दिबारी गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र कचनकवल गाउँपालिकाको १, ६ र ७ नम्बर वडामा विद्यतीय तारवार गरिने छ । ‘हात्तीको सास्ती व्यहोरिरहेका यहाँका बासिन्दाले अब राहत पाउने छन्’, उहाँले भन्नुभयो, ‘बर्सेनि हुँदै आएको जनधनको क्षति न्यूनकरण हुने आशा छ ।’
हात्ती नियन्त्रणका लागि पहिलो चरणमा जलथल जंगल वरिपरि विद्युतीय तारवार गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । ‘तारवारका लागि ठेक्का लागिसकेको छ’, उहाँले भन्नुभयो, ‘तारवारका लागि तीन वटा कम्पनीले संयुक्त रुपमा काम गर्ने छन् । विद्युतीय तारवारका लागि न्यू क्रिएसन, पशुपति र फ्रेञ्च गार्ड जेभीले ठेक्का पाएको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिनुभयो ।
झापाको महेशपुर, जलथल, पृथ्वीनगर, गरामनी, दुहागढी, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे, अर्जुनधारा, शिवसताक्षी, तोपगाछी लगायतका स्थान हात्ती प्रभावित क्षेत्र हुन् । हाल झापाको जंगलमा १० देखि १५ वटा हात्ती स्थायी रुपमा बस्दै आएको सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।