add
विचित्र विश्व

यी हुन् जो २४ पटक हारेर पनि नथाक्ने व्यक्ति

भारतमा हुने प्रत्येक निर्वाचनमा सयौँ स्वतन्त्र उम्मेदवारहरू उठ्छन्। विभिन्न बाधा र व्यवधान भए पनि उनीहरू प्रजातान्त्रिक प्रक्रियामा सहभागी हुन्छन्। दुई दर्जन पटक पराजित भएर पनि निर्वाचनमा उठ्न नछोड्ने एक व्यक्ति छन् । पुणे सहरको शिवनगरमा विजयप्रकाश कोन्डेकरलाई प्रायः सबैले चिन्छन्। त्रिहत्तर वर्षीय कोन्डेकर विगत दुई महिनादेखि निर्वाचन प्रचारप्रसारमा सक्रिय छन्।

ूसंसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशमा दलगत राजनीति मात्र गर्नुपर्छ भन्ने छैन भन्ने म सर्वसाधारणलाई देखाउन चाहन्छु,ू उनी भन्छन्। ूम आफूजस्तै स्वतन्त्र उम्मेदवार दिन चाहन्छु। यही नै भ्रष्टाचार हटाउने उपाय हो।ू यसपालि फेरि संसदीय निर्वाचनमा कोन्डेकर उठेका छन्। उनी उठेको क्षेत्रमा तेस्रो चरणमा एप्रिल २३ मा मतदान हुँदैछ। नब्बे करोड मतदाता रहेको भारतमा एप्रिल ११ मा निर्वाचन सुरु भयो। सात चरणमा हुने मतदान मे १९ मा सकिएपछि मे २३ देखि मतगणना सुरु हुनेछ।

उनको लक्ष्य के हो ?
स्वतन्त्र उम्मेदवार कोन्डेकरको लक्ष्य प्रधानमन्त्री बन्ने हो। आफू प्रधानमन्त्री भए प्रत्येक भारतीय नागरिकलाई १७,००० भारतीय रुपैयाँ दिने उनी बताउँछन्। सरकारले अन्य किसिमका खर्च कम गर्ने हो भने त्यसो गर्न सकिने उनको धारणा छ। सन् १९८० को दशकसम्म उनी महाराष्ट्र राज्यको विद्युत् बोर्डमा काम गर्थे। अहिले उनी एउटा साइनबोर्ड र ठेला लिएर पुणेका सडकमा हिँडिरहेका हुन्छन्।

पहिलेपहिले उनले ठेलामा एउटा चन्दा बाकस पनि राख्ने गरेको स्थानीय व्यक्तिहरू बताउँछन्। आफ्नो चुनाव चिह्न बूट भएको साइनबोर्डसहित उनी मत माग्दै हिँड्छन्। त्यो देखेर पनि धेरैले वास्ता गर्दैनन्, तर केहीले सेल्फी खिच्न अनुरोध गर्छन्। बिना कुनै लगानी सामाजिक सञ्जालबाट आफ्नो प्रचार हुने भएर उनी त्यस्ता अनुरोध सहर्ष स्वीकार्छन्।

स्वतन्त्र उम्मेदवारलाई कति सजिलो छ ?
फुलिसकेको सेतो लामो कपाल र दाह्री पालेका दुर्बल व्यक्तिलाई एप्रिल महिनाको गर्मीमा भोट माग्दै हिँडेको देख्दा केही उनीप्रति व्यङ्ग्य गर्छन्। कोन्डेकर अहिलेसम्म २४ पटक विभिन्न निर्वाचनमा उम्मेदवार भएको थाहा नपाउनेहरूले मात्र त्यसो गर्छन्। सन् २०१४ मा भारतमा झन्डै तीन स्वतन्त्र उम्मेदवार थिए।

सन् १९५७ को निर्वाचनमा ४२ जना स्वतन्त्र उम्मेदवार सांसद निर्वाचित भएका थिए। सन् १९५२ मा भएको पहिलो निर्वाचनयता कुल ४४,९६२ स्वतन्त्र उम्मेदवारहरू संसदीय निर्वाचनमा सहभागी भएका छन्। तर त्यसमध्ये २२२ जना मात्र विजयी भएका छन्। राजनीतिक दलको तुलनामा निकै कम स्रोत र साधन हुने हुँदा स्वतन्त्र उम्मेदवारले निर्वाचन जित्ने सम्भावना निकै कम हुन्छ।

त्यसमाथि भारतमा राजनीतिक दलको कमी छैन। दर्ता भएका कुल २,२९३ दलमध्ये सातवटा राष्ट्रिय दल छन् भने ५९ वटा क्षेत्रीय दल छन्। सत्ताधारी भारतीय जनता पार्टी र प्रतिपक्ष कङ्ग्रेस दुई प्रमुख दल रहे पनि कतिपय राज्यमा उनीहरू क्षेत्रीय दलको पछि लाग्नुपर्ने अवस्था छ।

फाइदा पुग्ने उपाय
तर कोन्डेकर आफूलाई फाइदा हुने एउटा उपाय पत्ता लागेको बताउँछन्। भारतीय निर्वाचनको नियमानुसार मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय दल र त्यसपछि क्षेत्रीय दल राखिन्छ। स्वतन्त्र उम्मेदवारको स्थान भने सबैभन्दा तल हुन्छ। उनी भन्छन्, ूमेरो आग्रह तल रहेका उम्मेदवारलाई मत दिनुहोस् भन्ने हो। त्यसो गर्दा स्वतन्त्र उम्मेदवारले नै जित्ने सम्भावना रहन्छ।ू उम्मेदवारको सूचीमा आफू सबैभन्दा तल पर्नका लागि उनले थर पनि फेरेका छन्।

किन उठ्छन् स्वतन्त्र उम्मेदवार ?
राजनीतिक दलहरूसँग प्रतिस्पर्धा गर्दा जित्ने सम्भावना कम भए पनि विभिन्न कारण देखाउँदै निर्वाचनमा उम्मेदवारी दिनेहरूको सङ्ख्या उल्लेख्य छ। के पद्मराजन् जस्ता केही व्यक्ति भने चर्चामा आउन उम्मेदवार बन्छन्। उनले १७० वटा निर्वाचनमा हार खेपिसकेका छन्। तर उनको उद्देश्य गिनिज बुकमा नाम लेखाउनु हो।

मङ्गलवार हुने निर्वाचनमा उनी कङ्ग्रेस अध्यक्ष राहुल गान्धीविरुद्ध उठेका छन्। केही समयअघि उनले आफूले जिते आफूलाई हृदयाघात हुने बताएका थिए। मङ्गलवार हुने निर्वाचनमा कङ्ग्रेस अध्यक्ष राहुल गान्धीविरुद्ध उठेका उनले हालसालै मात्र चुनाव जिते आफूलाई हृदयघात हुने बताएका थिए।

यस किसिमका उम्मेदवारले गर्दा भारतको कानुन आयोगले केन्द्रीय र प्रान्तीय निर्वाचनमा स्वतन्त्र उमेदवारी दिन नपाउने व्यवस्था गर्न सिफारिस गरेको थियो। तर त्यो लागु भएन।

जितको सम्भावना कति ?
स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढे पनि उनीहरूको सफलताको दर भने बढेको छैन। भारतको राजनीतिक प्रणालीमा दलहरूको गहिरो प्रभाव छ, निर्वाचन पर्यवेक्षण गर्ने एउटा संस्था असोसिएशन फर डेमोक्र्याटिक रिफर्मका संस्थापक जगदीप छोकर बताउँछन्। आफूले चुनाव नजित्ने बारे कोन्डेकरलाई पनि थाहा छ।

निर्वाचनका लागि उनले आफ्नो पैतृक सम्पत्तिमध्ये घर र जग्गा बेचिसकेका छन्। उनले निर्वाचनमा उम्मेदवार बन्न दिएको आवेदनमा आफ्नो मासिक आम्दानी पेन्सनबाट प्राप्त हुने १,९२१ भारतीय रुपैयाँ रहेको उल्लेख गरेका छन्।

आफ्नो लडाइँ साङ्केतिक रहेको स्वीकार गरे पनि कोन्डेकरले आस गर्न भने छोडेका छैनन्। यो राजनीतिक दलहरूको तलवार र मेरो कागज काट्ने चक्कु बीचको लडाइँ हो, उनी भन्छन्। तर मलाई प्रयास गरिरहन मन छ। उमेरका कारण सायद यो नै मेरो अन्तिम चुनाव हुन सक्छ। तर यस पालिको अवस्था फरक हुन सक्छ। एजेन्सी

Facebook Comments