add
खेलकुद स्थानीय खबर

मेचीनगर गोल्डकपः उपाधिका लागि आज भिडन्त, विभागीय टिमकै वर्चश्व

झापा, २१ बैशाख । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि भिडन्तलाई नेपाल पुलिस र त्रिभुवन आर्मीले ‘बेस्ट अफ थ्री’को रिजल्टको रुपमा लिएको बताएका छन् ।

सहिद स्मारक लिगमा १–० गोलले पुलिस हाबी भएको थियो भने आठौँ राष्टिय खेलकुद प्रतियोगितामा समान गोलअन्तरमा आर्मीले उपाधि जितेको थियो । शनिबार हुने मेची नेत्रालय मेचीनगर गोल्डकप दुवै टिमका लागि फाइनल भिडन्त हुने भएको छ ।

शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै पुलिसका कप्तान भरत शाहले तेस्रो भेटमा आर्मीमाथि जीत निकाल्ने दाबी गरे । टिमको कमजोरीमा सुधार ल्याउने बताएका उनले मिस पास र फिनिसिङमा सुधार गर्नुपर्ने अवस्था रहेको पनि बताए ।

पुलिसका डिफेन्डर सुमन सुवेदीले मेचीनगर गोल्डकपलाई ‘बेस्ट अफ थ्री’को रुपमा लिएको बताए । सुवेदीले टिमको बल पोजिसन र टिम वर्क राम्रो भन्दै ९० मिनेटभित्र रिजल्ट निकाल्ने प्रयत्न हुने पनि सुनाए ।

विपक्षी आर्मी फिजिकल्ली फिट भएको भन्दै कम नठानिएको उनीहरुको भनाइ थियो । फरक प्रसंगमा पुलिस टिम पुरस्कार बृद्धिमा भन्दा पनि प्रतियोगिताको पूर्वाधार विकासको पक्षमा रहेको कप्तान शाह र म्यानेजर सुवेदीले बताए ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले फाइनल भिडन्त दुई विभागीय टोलीको प्रतिष्ठाको लडाइँ भएको बताए । यसअघिका भेटमा समान जीत र हार व्यहोरेका कारण पनि जीत निकाल्न आर्मीका खेलाडी प्लानअनुसार खेल्ने उनले दाबी गरे ।

धेरै खेलाडी बिरामी भए पनि उमेर समूहका बाँकी खेलाडीबाटै उपाधि जित्ने उनले आशा व्यक्त गरे । नियमित कप्तान भरत खवास र किपर विकेश कुथू नहुँदा खेल्न सहज नभएको बताएका उनले ९० मिनेटभित्रै रिजल्ट निकालेर जित्ने महत्वाकांक्षा पनि सुनाए ।

नियमित प्लेमेकर नहुँदा फरक पर्ने बताउँदै कप्तान नवयुग श्रेष्ठले राम्रो खेल प्रदर्शन गरेर दर्शकको मन जित्ने बताए । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसअघिका खेल उपलब्धीमुलक बन्न नसकेको भन्दै उनले भरत नहुँदा फ्रन्ट लाइनमा समस्या आएको पनि सुनाए । किपर विवश चौधरीमा कन्फिडेन्ट नभएको स्वीकार गरेका कोच नविनले भाइटल म्याच खेल्न पाउनु पनि ठुलै अवसर भएको बताए ।

१० टिम सहभागी प्रतियोगिताको फाइनल खेलको विजेताले नगद १० लाख एक हजार र उपविजेता टिमले नगद पाँच लाख एक हजार पाउनेछ । प्रतियोगिता काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको हो ।

Facebook Comments