add
अर्थ विशेष स्थानीय खबर

झापामा १५ करोडको लागतमा हर्बल बाल उद्यान बन्ने

बनियानी, ३० बैशाख । झापाको बिर्तामोड नगरपालिकामा ‘हर्बल बाल उद्यान’ निर्माण हुने भएको छ ।

बिर्तामोड–२ स्थित रामचोक सामुदायिक वनमा कल्पचन्द्र आरोग्य धामले ‘हर्बल बाल उद्यान’ निर्माण गर्न लागेको हो । कल्पचन्द्र आरोग्य धामका अध्यक्ष कृष्णप्रसाद ढकालले सामुदायिक वनसँग ४० वर्षका लागि दुई हेक्टर जग्गा लिजमा लिएर हर्बल बाल उद्यान निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बाल उद्यान निर्माण गर्न रू १५ करोड खर्च हुनेछ । ‘मनोरञ्जनसँगै स्वास्थ्यवद्र्धक पार्क निर्माण गर्ने योजना रहेको छ’, उहाँले भन्नुभयो, ‘पार्कमा बढी अक्सिजन उत्पादन गर्ने जडीबुटी तथा फूलका बिरुवा लगाइने छ ।’ अर्जुनको रुखको हावाले मात्र पनि मुटुका रोगीलाई फाइदा पुग्ने उहाँले बताउनुभयो ।

बाल उद्यानमा लगाइने जडीबुटीजन्य रुख बिरुवाका विषयमा डा. तेजन भण्डारीले अध्ययन गरिरहेको अध्यक्ष दाहालले बताउनुभयो ।

डिभिजन वन कार्यालयसँग सहकार्य गरेर नेपालको पहाडी क्षेत्र र भारतबाट बोटबिरुवा ल्याइने अध्यक्ष दाहालले बताउनुभयो । ‘भारतको गोवामा हर्बल पार्क छ’, उहाँले भन्नुभयो, ‘त्यस्तै, पार्क निर्माण गर्ने हाम्रो योजना हो ।’

बाल उद्यानमा बालबालिकालाई खेल्ने आवश्यक सामग्रीको स्थान, परिपरि हिँड्नका लागि वान–वे, लोपोन्मुख चराचुरुङ्गी र योग तथा मेडिटेसनका गर्ने स्थान निर्माण गरिने बाल उद्यान निर्माण समितिका अध्यक्ष जेवी जवेगुले बताउनुभयो ।

बाल उद्यान निर्माणका लागि बिर्तामोड नगरपालिका, डिभिजन वन कार्यालय र शान्ति मन्त्रालयले आर्थिक सहयोग गरेको छ भने प्रदेश नं. १ सरकारले रू ४० लाख उपलब्ध गराउने भएको छ । हालसम्म बाल उद्यानको घेराबाराको काम सम्पन्न भइसकेको छ । अन्य भौतिक पूर्वाधार निर्माण, वन हातमा रहेको रुखहरुमा रंगरोगन गर्ने का भइरहेको अध्यक्ष दाहालले बताउनुभयो ।
– सन्तोष शर्मा

Facebook Comments