add
राजनीति विशेष स्थानीय खबर

प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कटौती हुँदैनः नेता खनाल

सन्तोष शर्मा
बनियानी, ६ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–का बरिष्ठ नेता झलनाथ खनालले संविधानप्रदत्त प्रेस स्वतन्त्रता कुनै पनि हालत कटौती नहुने बताउनुभएको छ ।

प्रेस संगठत झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले त्यस्तो बताउनुभएको हो । ‘संविधानले दिएको अधिकारलाई कसैले कटौती गर्न सक्दैन’, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले भन्नुभयो, ‘प्रेस ऐनमा देखिएका केही विवाद परिस्कार गर्ने प्रक्रियामा रहेको छ, यसलाई अझ समुन्नत बनाइनेछ ।’

पत्रकारहरुको आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँदै नेता खनालले प्रेस स्वतन्त्रसँगै मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । ‘पत्रकारको आन्दोलनले मिडिया काउन्सिल विधेयकलाई अझ राम्रो बनाउन सहयोग पुग्नेछ’, उहाँले भन्नुभयो, ‘मैले आन्दोलनलाई सकारात्मक रुपमा लिएको छु ।’

पार्टी भित्र मिडिया काउन्सिल विधेयकका विषयमा छलफल भइरहेको नेता खनालले बताउनुभयो । ‘पार्टीभित्र छलफल भइरहेको छ’, उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्रतामा आँच आउन दिँदैनौँ ।’

पार्टी एकताको काम भने जसरी अघि नबढे पनि अब चाँडै एकता प्रक्रिया टुंगिने नेता खनालले बताउनुभयो । ‘पार्टी संगठन एकताको काम करिब–करिब सकिएको छ’, नेता खनालले भन्नुभयो, ‘२२ वटा जनवर्गीय संगठन छन्, त्यो पनि एकताको प्रक्रियामा छ ।’

पार्टी एकता तीव्र गतिमा भइरहेकाले देशभरका करिब आठ लाख सदस्यमा सकारात्मक सन्देश प्रवाह भएको र पार्टी कार्यकर्तामा ऊर्जा थपिएको उहाँले बताउनुभयो । एकतासँगै नेकपा नयाँ नीति र सिद्धान्तका साथ अघि बढ्ने नेता खनालले उल्लेख गर्नुभयो ।

नेकपा नेतृत्व सरकारको पहिलो वर्ष आधार वर्षका रुपमा सम्पन्न भएको बताउँदै नेता खनालले भन्नुभयो, ‘यो अवधिमा संविधान र संघीयता कार्यान्वयन, सयौँ ऐन–कानून निर्माण काम भएको छ, लोकतन्त्रलाई समृद्ध बनाउने काम भएको छ, आर्थिक बृद्धिदर ७ प्रतिशत पुगेको छ, यसलाई पनि उपलब्धि मान्नु पर्छ ।’

नेकपा जिल्ला कमिटी इलामले पूर्णता पाएपछि भोलि (मंगलबार) हुने सपथ ग्रहण कार्यक्रममा सहभागी हुन नेता खनाल काठमाडौँबाट इलाम जाने क्रममा झापा आएका हुन् ।

Facebook Comments