अनिल वाग्ले
बुधबारे, ६ जेठ । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की झापाको बुद्धशान्तिमा सोमबार अभिनन्दित भएका छन् । उनलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन गरेको हो ।
केन्द्रका अध्यक्ष लीलाशरण भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा चतारामा सम्पन्न कुम्भ मेलामा सरकारका तर्फबाट कुम्भ मेलाको संयोजकको भूमिका निर्वाह गरेर मेला सम्पन्न गर्न महत्वपूर्ण योगदान गरेको, राजनितिक तथा सामाजिक क्रियाकलापमा देखाएको सकृयताको उच्च मूल्याङ्कन गर्दै उनलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा अनन्त श्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको पनि गरिमामय उपस्थिति रहेको थियो ।
अभिनन्दन कार्यक्रममा बालसन्त मोहनशरणले कुम्भमेला सम्पन्न गर्न प्रदेश कानुनमन्त्री कार्कीको योगदान महत्वपूर्ण रहेको टिप्पणी गरे । कार्यक्रममा प्रदेश कानुनमन्त्री कार्कीले जगद्गुरु जन्मस्थलको बृहत्तर विकासका लागि राज्यका तीन तह नै हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
उनले जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्रले बनाएको योजना सफल बनाउने कुरामा आफू पूर्ण रुपले लाग्ने प्रतिवद्धता व्यक्त गरे । ‘मलाई हत्तपत्ति कुनै कुरामा दिलचस्पी लाग्दैन’ मन्त्री कार्कीले भने ‘जव कुनै कुरामा दिलचस्पी लाग्छ छोड्दै छोडदिन ।’ उनले आगामी ६ बर्ष पछि लाग्ने कुम्भ मेला प्रदेश सरकारले नै आयोजना गर्ने बताउँदै त्यस बखत राज्यको कुनै पदीय हैसियतमा रहे पनि नरहे पनि आफू कुम्भ मेलाको आयोजक मै बसेर मेला सफल पार्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे । सोहि अवसरमा उनले जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययनको आजिवन सदस्यता पनि लिएका छन् ।
त्यस्तै कार्यक्रमका अतिथि प्रदेश सांसद बृख प्रधानले यस क्षेत्रको विकासका लागि आफूले प्रदेशमा योजना पेश गरिसकेको बताएका छन् । प्रधानले जगद्गुरु जन्मस्थललाई तीर्थ स्थलका रुपमा विकास गर्नुपर्ने बताए । त्यसका लागि सडक तथा भवन निर्माणका कुरामा लाग्नुपर्ने उनको भनाई थियो ।
त्यस्तै कार्यक्रमका अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बुद्धशान्तिले विश्वले मान्ने जगद्गुरु पाएको बताउँदै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सबै पक्ष लाग्नुपर्ने बताउँदै गाउँपालिका यस क्षेत्रको विकासका लागि पूर्णरुपले लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । केन्द्रको निर्माणाधिन भवनको माथिल्लो तला गाउँपालिकाले निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
कार्यक्रमका अर्का अतिथि विश्व हिन्दू परिषद्का अध्यक्ष देवराज अधिकारीले जगद्गुरु नेपाल राष्ट्रका मात्र नभएर विश्वका जगद्गुरु भएको बताए । जगद्गुरु सम्पूर्ण मानव जातिको भएको टिप्पणी गर्दै अधिकारीले चताराधाम प्राचिन हरिद्धार भएको बताए । केन्द्रका सदस्य केदार कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नन्दकुमार तिम्सिनाले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।