add
अर्थ विशेष

४६ अर्ब बराबरको बजेट ल्याउने प्रदेश १ को तयारी

विराटनगर, १० जेठ । आगामी आर्थिक वर्ष ०७६–७७ का लागि प्रदेश १ सरकारले ४६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

चालु आर्थिक वर्षको भन्दा २५ प्रतिशतले वृद्धि गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले जानकारी दिए ।

‘बजेटको अंक भन्न मिल्दैन, एक मन्त्रालयदेखि अर्को मन्त्रालयलाई पनि बजेटको अंकको बारेमा जानकारी हुँदैन,’ मन्त्री आङ्म्बोले भने, ‘चालु आर्थिक वर्षको बजेटको आकारमा कम्तिमा पनि २५ प्रतिश बजेटको आकार बढनेछ, करिबरकरिब बजेटको आकार ४५–४६ अर्ब भित्र समेटिनेछ ।’

मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेटको सबै भन्दा ठूलो अंश ४५ प्रतिशत भौतिक पूर्वाधारलाई समेटिएको छ । बजेटमा कृषिको आधुनिकीकरणलाई पनि महत्व दिएको छ । चालु आर्थिक वर्षको बजेटमा पनि ४५ प्रतिशत बजेटको हिस्सा पूर्वाधारमै छुट्याइएको थियो ।

प्रादेशिक योजना आयोगले भने आगामी आर्थिक वर्षको बजेट ५५ अर्बको हाराहारीमा ल्याउन मन्त्रालयलाई सिफारिस गरेको छ । मन्त्री आङम्बोले आगामी असार १ गते प्रस्तुत गरिने बजेटको नीतिगत पक्षमा छलफल भइरहेको जानकारी दिए ।

उनले संसद्को चौथो अधिबेशन १३ जेठमा बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरी बजेटमाथिको छलफल अगाडि बढाइने जानकारी दिए । उनले बजेटको मार्गदर्शन र सिलिङ सबै मन्त्रालयलाईे उपलब्ध गराइसकेको र मन्त्रालयहरुले तय गर्ने बजेटको सिलिङमा कम्तिमापनि बजेटको ४० प्रतिशत पूर्वाधारमा अनिर्वाय भनिएको जानकारी दिए ।

उनले प्रदेशको आवधिक योजना, सरकारले पेश गरेको नीति तथा कार्यक्रम, दिगो विकासको लक्ष्य, राजस्व परामर्श समितिले दिएको सुझाब, त्यसैगरी निजी क्षेत्रले दिएको सुझावसमेत समेटेर बजेटको तयारी भइरहेको जानकारी दिए ।

उनले कुल आकारका हिसाबले बजेटको झन्डै ४० प्रतिशत हिस्सा पूर्वाधारमै भएपनि पूर्वाधार निर्माण आफैंमा विकास नभएर माध्यम मात्र भएको बताए । प्रादेशिक बजेटमा सामाजिक सेवा र स्वास्थ्यका निम्ति पनि बजेटको दोस्रो प्राथमिकता छ ।

आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई आकषिर्त गदै रोज कुरालाई पनि बजेटमा महत्वका साथ समावेश गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री आङ्म्बोका अनुसार लोकप्रियता र महत्वकांक्षाका कार्यक्रमलाई यस पटकको बजेटमा समेटिने छैन ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता हरिहर पौडेलले स्थानीय तह र मन्त्रालयहरुलाई पनि कवेटको तयारी गर्दा कम्तिमा ३७ प्रतिशत बजेट पूर्वाधारमा समेट्न भनिएको जानकारी दिए ।मन्त्रालयले बजेटको तयारीलाई तीव्रता दिएको छ,प्रवक्ता पौडेलले भने, ‘मन्त्रालयबाट आएका योजनाहरुलाई अहिले समष्टिगत रुपमा इन्ट्री गर्ने काम भइरहेको छ ।’

उनले चालु आर्थिक वर्षमा बिषेश अनुदान र समपुरक अनुदानमा पनि केही रकम छुटाउने जानकारी दिए । चालु आर्थिक वर्षको बजेटमा समपुरक र विषेश अनुदान शीर्षकमा बजेट प्रदेश सरकारले छुटाएको थिएनन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा सशर्त अनुदानमा २ अर्ब रुपैयाँ छुटाएको थियो । चालु आवमा सघीय सरकारले १३ अर्ब २७ करोड सशर्त अनुदान दिएको थियो । वित्त हस्तान्तरणमा ५ अर्ब रुपैयाँ छुटाइएको थियो ।

चालु आर्थिक वर्षको बजेट ३५ अर्ब ३९ करोड ६० लाखको रहेको थियो । यसमा १८ अर्ब पूँजीगत खर्चका लागि छुट्याइएको छ । यसमध्ये हालसम्म २२ प्रतिशत खर्च भएको छ । जसमा प्रदेश सरकारले असार मसान्तसम्म ६० प्रतिशत पुग्ने अनुमान गरेको छ ।

मन्त्रालयका अनुसार प्रदेश सरकारले आगामी आवका लागि तयारी गरिरहेको प्रादेशिक बजेटमा सघीय सरकारबाट सशर्त आउने अनुदानको टुङ्गो नलागेकाले सो रकम नगाभिएको जनाएको छ ।अनलाइन खबरबाट

Facebook Comments