add
खेलकुद विशेष स्थानीय खबर

गौरादहमा प्रदेश स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने

सान नेपाल
गौरादह, १० जेठ ।
खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण उद्देश्य हासिल गर्ने लक्ष्य लिएको गौरादह नगरपालिकाले यस आर्थिक वर्षका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत हप्ता मात्र सम्पन्न भएको मेयर कम भलिवल लगत्तै प्रदेश स्तरिय खुल्ला व्याडमिन्टन खेल गर्ने कार्यक्रमको खाका सार्वजनिक गरिएको छ ।

प्रदेश स्तरिय खूल्ला डवल व्याडमिन्टन प्रतियोगिता यही जेष्ठ १३ गते उद्घाटन भई जेष्ठ १५ गते गणतन्त्र दिवशको अवसर पारेर समापन गरिने पत्रकार सम्मेलन मार्पmत जानकारी गराईएको हो । प्रदेश स्तरिय खुल्ला व्याडमिन्टन खेल वडा नं. १, २ र ३ को संयुक्त आयोजनामा सम्पन्न हुन गईरहेको व्याडमिन्टन खेल आयोजका समितिका संयोजक पुण्य सिग्देलले वताए ।

खेलको व्यवस्थापनको लागि ३ वटा उपसमितिहरु गठन गरिएको र ३ वटै वडाका वडाध्यक्षहरुको संयोजनकारी भुमिका रहने भएकोले खेल सभ्य र भव्य रुपमा सञ्चालन हुने अपेक्षा गरिएको उनले वताए । उक्त खेलको लागि प्रदेश भित्रका ७ टिमले नाम दर्ता गराई सकेको र २० भन्दा बढी टिमको सहभागीता हुन सक्ने प्रारम्भिक अनुमान रहेको संयोजक सिग्देलले बताए ।

युवाहरुमा अनुशासनको विकास गर्दै नगरपालिका भित्रका खेलपे्रमीहरुमा खेलको विकास गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको ब्याडमिन्टन खेलमा १ टिममा २ जना खेलाडी रहने जनाइएको छ । आवासको व्यवस्थापन खेलाडी स्वयंले गर्नुपर्ने तथा खेलाडीहरुलाई खेल अवधिमा खाजा र ड्रेसको व्यवस्था हुनुका साथै विजेता टिमले नगद ४१ हजार , उपविजेताले ३१ हजार र तेस्रो हुने टिमले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने संयोजक सिग्देलले जानकारी गराए ।

गौरादह ३ मा रहेको अत्याधुनिक सुविधा सहितको सामुदायिक भवनमा सञ्चालन गरिने खेलका लागि ३ वटा वडा कार्यालयबाट १ लाख ५० हजार विनियोजित भएको वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी गराए । वडा कार्यालयबाट प्राप्त रकम अपुग हुने भएकाले आर्थिक संकलन गर्न स्रोतको खोजी भइरहेको र सुनचाँदी व्यवसायी सोम सिलवालबाट प्रथम पुरस्कार १० हजार बराबरको ट्रफि, मेडल र प्रमाणपत्र र फेवा ल्युब प्रालिले तेस्रो पुरस्कारको व्यवस्था गरेको जानकारी गराइएको छ ।

कवर्ड हल निर्माण गरिने

त्यस्तै, खेलकुदका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै खेलाडीहरु समेत उत्पादन गर्दै जाने लक्ष लिएको गौरादह नगरपालिकामा खेलकुद रङ्गशाला नहुदा खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न समस्या देखिएको छ ।

रङ्गशाला निर्माणको लागि जग्गा खोजी कार्य चलिरहेको वडा नं. १ का वडाध्यक्ष नगर प्रवक्ता तथा नगेन्द्र भण्डारीले वताए । उपयुक्त स्थानमा जग्गा खोजी गरी प्रदेश तथा संघिय सरकारबाट सहयोग लिएर सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने योजना रहेको प्रवक्ता भण्डारीको भनाइ छ ।

वडा नं. १ स्थित जनता मा.वि.को खेलमैदानमा कवर्डहल निर्माण गर्नका लागि प्रदेश सरकारबाट २० लाख बजेट यसै वर्ष विनियोजन भएको र यथासिघ्र निर्माण कार्य सञ्चालन गरिने भण्डारीले जानकारी गराए ।

Facebook Comments