add
विशेष स्थानीय खबर स्वास्थ्य

कनकाई हस्पिटलसहित झापाका तीन निजी अस्पतालमा स्वास्थ्य बीमा

बिर्तामोड, १३ जेठ । झापाको बिर्तामोडस्थित कनकाई हस्पिटलमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ ।

अस्पतालमा आइतबार एक कार्यक्रमका बीच बुद्धशान्ति–३ की बिमीत सेवाग्राही ४२ वर्षीया यादवकुमारी सापकोटाले रिवन काटेर सेवाको शुभारम्भ गर्नुभएको हो । अस्पतालका कार्यवाहक अध्यक्ष महेन्द्रकुमार राईले स्वास्थ्य बीमा बोर्ड र अस्पतालको सहकार्यमा कार्यक्रम लागू गरिएको बताउनुभयो ।

‘लामो समयदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न गृहकार्य गरिरहेका थियौँ’, कार्यवाहक अध्यक्ष राईले भन्नुभयो, ‘लामो समयको प्रयास र अस्पतालको सेवाको मूल्यांकन गरेर बीमा कार्यक्रम ल्याउन सफल भएका छौँ ।’

सर्वसुलभ रुपमा सेवा प्रदान गर्न अस्पतालले जनशक्ति र आवश्यक उपकरण थप गरिरहेका उहाँले बताउनुभयो । ५५ शैय्याको अस्पताललाई शैय्या थप गरी १०५ पु¥याइने, १३० जना जनशक्ति रहेकोमा तत्काल ३० जना बृद्धि गरिने, तीन जना क्षमताको आईसीयूलाई बृद्धि गरी पाँच पु¥याउन लागिएको अस्पतालले जनाएको छ ।

सरकारले तोकेका मापदण्ड र मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको कार्यवाहक अध्यक्ष राईले बताउनुभयो । सरकारले तोकेको ११३३ प्रकारका औषधि र ४८ प्रकारका सिर्जिकल सामग्री सेवाग्राहीलाई सहजै उपलब्ध गराइने जनाइएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत कनकाईलाई रेफरल अस्पतालका रुपमा रहेको छ भने इमेर्जेन्सीको हकमा भने त्यो लागू नहुने अस्पतालले जनाएको छ ।

कनकाईसँगै झापामा स्वास्थ्य बीमा लागू हुने निजी अस्पतालको संख्या तीन पुगेको छ । दमकको लाइफ लाइन र एड्भान्स अस्पतालले यसअघि देखि नै स्वास्थ्य बीमा अन्तरगतको सेवा प्रदान गर्दै आएका छन् ।

कार्यक्रम अन्तरगत पाँच जनासम्मको परिवारले वार्षिक रू दुई हजार पाँच सय सेवा शुल्क तिरेर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने पाउने प्रावधान छ । पाँच जनादेखि बढी सदस्य भएको परिवारले थप रू चार सय २५ रुपैयाँ अतिरिक्त तिरेर पनि सदस्य बन्ने पाउने छन् । सदस्य भएपश्चात् सो परिवारलाई वार्षिक रू ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ ।

आगामी आर्थिक २०७६÷०७७ देखि रू तीन हजार पाँच सयमा रू एक लाखसम्मको स्वास्थ्य बिमा कार्यक्रमका जिल्ला प्रबन्धक रमेन्द्रप्रसाद कुस्वाहले बताउनुभयो । सन्तोष शर्मा

Facebook Comments