साहित्य

भुटानी नेपालीभाषी माथि गरिएको अत्याचार ‘किनाराको प्रश्न’

काठमाडौं, ३२ असार। भुटानमा नेपाली भाषी माथि गरिएको अत्याचारमा केन्द्रित रहेर नेपाली भाषी भुटानी साहित्यकार तुम्बेहाङ लिम्बूले तयार गरेको ‘किनाराको प्रश्न’ कविता संग्रह सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्य परिषद् भुटानको आयोजना र घनश्याम सांस्कृतिक प्रतिष्ठानको सहआयोजनामा भएको कार्यक्रममा संग्रहको समालोचक तथा सौन्दर्य चिन्तक निनु चापागाईं, समालोचक प्रा। डा। गोपीन्द्र पौडेल, प्राज्ञ तथा कवि श्रवण मुकारुङ, र साहित्यकार सीता शर्माले संयुक्त रुपमा सार्वजनिक गरे ।

उक्त संग्रहसँगै नेपाली भाषी भुटानी कथाकारको संयुक्त कृति ‘समकालीन भुटानी नेपाली कथा’ को समेत विमोचन गरियो ।
भुटानमा नेपालीे साहित्यको अवस्था निकै नै कमजोर रहेको समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईंले बताए । भुटानबाट अहिलेसम्म लगभग साहित्यका सबै विधामा गरेर जम्मा ६२ वटा नेपालीभाषामा साहित्यिक कृति मात्रै प्रकाशित भएको जानकारी दिए । उनले भने, ‘भुटानको राजनीतिक अवस्थाका कारण त्यहाँको नेपालीभाषी साहित्य समाप्त हुने दिशामा पुगेको छ । यसलाई जोगाउन भुटानी स्रष्टाले सचेत ढंगले पहल गर्नुपर्दछ ।’

उनले भुटानको प्रतिकूल राजनीतिक परिस्थितिबाट गुज्रिदै कवि तुम्बेहाङले कविता लेखेको भन्दै त्यही परिवेश अनुसार उनको लेखनलाई बुझ्नुपर्ने धारणा राखे । उनले भने, ‘कवि तुम्बेहाङको लेखन क्रमशः सुधारको दिशामा अगाडि बढ्दै गएको छ । साथै विमोचित कृति भुटानको सन्दर्भमा हेर्दा निकै उत्कृष्ट छ ।’ कवि तुम्बेहाङले सरल र सामान्य जनले बुझ्ने भाषामा कविता लेखेको कवि तथा प्राज्ञ श्रवण मुकारुङले बताए । उनले भने, ‘कवित सरल र सरस भएको हुँदा सबैले बुझिने खालका छन् ।’ साहित्यकार सीता शर्माले लिम्बूका कविताले प्रगतिवादी विचारलाई अंगीकार गरेको धारणा राखिन् ।

कार्यक्रममा कवि तुम्बेहाङले भुटानमा नेपालीभाषीले साहित्य लेख्नमात्रै होइन सामान्य खेलकूद क्लब समेत खोल्न नपाउने अवस्था रहेको पीडा पोखे । उनले भने, ‘भुटानी नेपालीले अधिकारका लागि आन्दोलन गर्दा देशबाटै लखेटिनु परेको छ ।’ उनले सन् १९९० मा जेल परेपछि कविता लेख्न थालेको जानकारी दिए । उनले आफूले भुटानी जनताले भोग्नुपरेका वर्गीय असमानता र विभेदका पक्षमा कलम चलाउँदै आएको बताए ।

Facebook Comments