add
खेलकुद

इंगल्यान्डले बंगलादेशलाई १०६ रनले हरायो

CARDIFF, WALES - JUNE 08: Jason Roy of England leads his team from the field after winning the Group Stage match of the ICC Cricket World Cup 2019 between England and Bangladesh at Cardiff Wales Stadium on June 08, 2019 in Cardiff, Wales. (Photo by Gareth Copley-IDI/IDI via Getty Images)

काठमाडौं, २६ जेठ । जासन रोयले एक सय ५३ रनको शतकीय प्रदर्शन गरेपछि घरेलु टोली इंगल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशलाई एक सय ६ रनले हराएको छ ।

शनिबार राति भएको खेलमा इङ्ल्यान्डले दिएको तीन सय ८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ८० रनमा समेटिएको थियो ।

बंगलादेशका अलराउन्डर सकिब अल हसनले प्रभावशाली प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । सकिबले एक सय २१ रन बनाए । मुसफिकर रहिमले ४४ रन, महमोदुल्लाले २८, मोसादेक हुसेनले २६ र प्रारम्भिक ब्याट्सम्यान तमिम इक्वालले १९ रन बनाए । इङ्ल्यान्डका बेन स्टोक्स र जोफरा आर्चरले तीन तीन विकेट लिए । मार्क उडले दुई तथा लियाम प्लुनकेट र अडिल रसिदले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ८६ रनको विशाल योगफल खडा गरेको थियो । इङ्ल्यान्डको जितमा प्रारम्भिक ब्याट्सम्यान जासन रोयले शतकीय पाली खेले । आक्रामक ब्याटिङ गरेका उनले एक सय ५३ रन बनाए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्ट र जस बट्लरले पनि अर्धशतकीय रन बनाए । रोय र बेयरस्टले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरेका थिए । रोयले ५१ र जस बट्लरले ६४ रन बनाए । कप्तान इयोन मोर्गनले ३५, लियाम प्लुनकेटले २७, जोए रुटले २१ र क्रिस वाक्सले १८ रन बनाएका थिए । बंगलादेशका मोहमद सैफुद्दिन र मेहदी हसनले दुई दुई विकेट लिए । मसरफे मोर्तजा र मस्ताफिजुर रहमानले एक एक विकेट लिएका थिए ।

जारी विश्वकपमा इङ्ल्यान्डको दोस्रो जित हो । इङ्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई एक सय ४ रनले हराएको थियो । दोस्रो खेलमा भने घरेलु टोली इङ्ल्यान्ड पाकिस्तानसँग १४ रनले पराजित भएको थियो । बंगलादेशको भने तेस्रो खेलमा दोस्रो हार हो । पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको बंगलादेश दोस्रो खेलमा न्युजिल्यान्डसँग दुई विकेटले पराजित भएको थियो ।

Facebook Comments