add
स्थानीय खबर

जलथल जंगलमा जैविक विविधताः सरोकारवालासँग अन्तरक्रिया

भद्रपुर, २७ जेठ । जलथलमा पाइने जैविक विविधता, महत्व र विशिष्ठताको प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार झापाको हल्दिबारी गाउँपालिका–४ मा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुर नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र उपभोक्तासँग फरेष्ट एक्सनको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

एक्सनले व्यवस्थापन गरेको कार्यक्रममा काठमाडौं फेरस्ट्री कलेज, सामुदायिक वन उपभोक्ता महासंघ झापा र रोयल बोटानिक गार्डेन एडिनवर्ग साझेदार रहेका छन् ।

६ हजार तीन सय हेक्टर क्षेत्रफलमा फैलिएर एकै स्थानमा केन्द्रित रहेका ती सामुदायिक वनमा पहाड र मधेश दुवै क्षेत्रमा पाइने विभिन्न प्रजातिका विरुवाहरु र जीवजन्तुहरु पाइने सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताए ।

तीन बर्षे योजना लिएर सुरु गरिएको कार्यक्रममा सामुदायिक वनमा जैविक विविधता व्यवस्थापन, जैविक विविधता सम्बन्धी पुस्तकहरु, वन प्राविधिकहरुलाई तालिम, पर्यापर्यटनलाई सहयोग पुग्ने बृत्तचित्र र नेपालमा जैविक विविधताको अवस्था र व्यवस्थापन सम्बन्धी बहस पैरवी गरिने कार्यक्रमका फोकल पर्सन लीलानाथ शर्माले बताए ।

उनले सो कार्यक्रममार्फत जलथललाई जैविक विविधता संरक्षण गर्दै विपन्न समूहको आम्दानी बढाउन सकिने वन र उद्यमलाई पर्यापर्यटनमार्फत जोड्न सकिने, मिचाह प्रजातिका रैथाने प्रजातिको उन्मूलन गर्ने र जलबायु परिवर्तनसँग जुध्न सक्षम बनको रुपमा विकास गरिने बताए ।

नेपालमै उष्ण र समोष्ण हावापानीमा पाइने विभिन्न प्रजातिका बोटविरुवा र अत्यन्त दुर्लभ जातिका शालक, अजिङ्रलगायतका वन्यजन्तु पाइने जलथल जैविक विविधताको हिसाबले नेपालकै धनी मानिने फोरेक्ट एक्सनका कार्यक्रम संयोजक डा. नयन शर्माले बताए ।

उनले दुई तहको कार्यक्रम अन्तरगत स्थानीय स्तरमा जलथल क्षेत्रको जैविक विविधता अध्ययन र व्यवस्थापकीय ढाँचाहरुको विकास, राष्ट्रियस्तरमा जलथल क्षेत्रको सिकाई र देशको अन्य भूभागको सिकाई संश्लेषणमार्फत जैविक विविधता व्यवस्थापन सम्बन्धी नीति निर्माणमा योगदान पुग्ने बताए ।

कार्यक्रममा बोटानिक गार्डेन एडिनवर्गका कार्यक्रमका प्रतिनिधि डा.भाष्कर अधिकारीले नेपालमा सेतो बनमारा, जलकुम्भी, प्याङ्ग्री लहरा, सत्यनाशी, लज्जावती झारलगायते रैथाने वनस्पतिको विस्थापन गरी लोप हुने अवस्थामा पुर्याएको बताए । उनले जलथलमा रहेका २२ वटै सामुदायिक वनहरुलाई यस्ता मिचाह प्रजातिहरुले वातावरणीय सेवाहरु र परिस्थिकीय प्रणालीलाई प्रतिकूल असर गर्ने भएकाले यस कार्यक्रमले नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

महासंघका अध्यक्ष भण्डारीको अध्यक्षमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, सामुदायिक वन महासंघकी केन्द्रीय सदस्य संगीता थापा, निजी पारिवारिक वन झापाका अध्यक्ष लक्ष्मण पाठकलगायतले जैविक विविधता व्यवस्थापन कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

एक्सनका फोकल पर्सन कमल भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सामुदायिक वन महासंघका पूर्व अध्यक्ष छत्र गिरीले तीन बर्षभित्रमा जलथल एसियाकै जैविक विविधता सम्बन्धी खोजअनुन्धान गर्ने थलोको रुपमा विकास हुने बताए ।

Facebook Comments