add
राजनीति स्थानीय खबर

भद्रपुर–३ को विकासमा बेवास्ताः कांग्रेसले बुझायो ज्ञापन

भद्रपुर, २७ जेठ । नेपाली कांग्रेस भद्रपुर ३ नम्बर वडा समितिले वडाको विकासमा नगर नेतृत्वबाट बेवास्ता गरिएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र पठाएको छ ।

विकट वडाको पहिचान पाएको सो वडामा कांग्रेसले निर्माणाधीन भैसावाडी जोड्ने मेची खोलाको झोलुङ्गे पुल, धिमालधुरामा रहेको अरनिको माविको विद्यालय भवन लगायत दर्जनौ योजना अलपत्र परेको भन्दै निरन्तर काम अगाडि बढाउन दबाव दिने उद्देश्यले वडा कार्यालय मार्फत नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो । वडाध्यक्ष कमला थुलुङ मार्फत नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई वडाको विकासमा विभेद नगर्न अनुरोध गर्दै ज्ञापन पत्र पठाइएको छ ।

३ नम्बर वडा समन्वय समितिका संयोजक धिरेन राजवंशी तथा सहसंयोजक कैलाश बोखिमको नेतृत्वमा अग्रज कार्याकर्ता सुरेशकुमार राई, शीला तामाङ,शम्शेर तामाङ, सागर खड्का, टेकबहादुर पाण्डे लगायत गएको टोलीले वडाध्यक्ष मार्फत ज्ञापन पत्र नगर कार्यपालिकामा पठाएको हो । ज्ञापनपत्रमा स्थानीय नागरिकका समस्या हल गर्न नगरको नेतृत्व लिने जनप्रतिनिधिले बेवास्ता गरेकोले सडक, पूल, कल्वर्ट निर्माण, खेलकुद, खानेपानी, सिंचाइ लगायत दर्जनौं समस्याको हल गर्न माग गरिएको छ ।

Facebook Comments