add
समाज

भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ

काठमाडौँ, २८ जेठ । १९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ । ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो ।

अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा चक्कुले हानेर उनले विजयश्वरीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आठतोला सुन, ६ हजार नगद र चार हजार रुपैयाँ पर्ने ज्याकेट लिएर उनी भागेका थिए । त्यसयता उनी भारतमा लुक्दै आएका थिए ।

‘गृह मन्त्रालयकै अनुमति लिएर हामी उनलाई खोज्दै मुम्बई पुगेका थियौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीका निर्देशक डिआइजी नीरज शाहीले भने, ‘महिनौँको मिहिनेतपछि उनलाई पक्राउ गर्न सफल भएका हौँ ।’ अधिकारीलाई बेलहिया नाकाबाट पक्राउ गरिएको सिआइबीले जनाएपछि मुम्बईबाटै पक्राउ गरी ल्याएको प्रहरी स्रोत बताउँछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Facebook Comments