add
विचार विशेष स्थानीय खबर

कार्ल माक्स, बुद्ध अनि ब्राह्मणले जन्माएको दलित

प्रशान्त पुष्प रिजाल
समाजमा वर्ग त्यसै स्थापित भएको हँुदैन । यो कुनै लोकसेवामा प्रतिस्पर्धा सफल हुने उच्च योग्य हुने, असफल हुने अयोग्य भन्ने जस्तो मात्रै पनि होइन । कयौँ शताब्दिहरुसम्म मतदान गर्न हिँडेको व्यक्ति दलितलाई देखेको दिन अशुभ हुने कल्पना गर्दै भोट हाल्ने र बाहिर आएर परिस्कृत राजनीतिको व्याख्या गर्नु कदापी मेल खाँदैन । पहिला आफू बदलिने हो, समाज बदल्ने हो, राजनीति आफैँ बदलिन्छ । सामाजिक, राजनीतिक रुपमा समाजको उच्च वर्गको शोषण, धार्मिक आडम्बर, अहमताको प्रतिफलले समाजमा एउटा जात, समूह लगातर पिछडिँदै, तिरस्कृत हुँदै स्थायी रूपमा समाजमा स्थापित हुने हो ।

पूर्वीय समाजलाई हेर्ने हो भने मनुस्मृतिले एउटा ब्राम्हण ब्रम्हाको मुखबाट र शुद्र पैतालाबाट उत्पत्ति हुने भन्ने लेखिएको छ । दर्शनको नजरबाट हेर्दा यस युक्तिका आफ्नै अर्थ लगाउन सकिएला । तर, यथार्थमा त्यो व्यवस्था कतिसम्म पतित भयो त्यसको उदाहरण बौद्धकालीन पूर्वीय समाजको पृष्टभूमिमा प्रस्ट देखिन्छ । बुद्धले किन शुद्रलाई आफ्नो शिस्य बनाए होला ?

वेद, हिन्दुत्वको उपस्थिति रहँदारहँदै बुद्धत्वको आवश्यकता किन भयो पूर्वीय समाजमा ? त्यो त्यस बेलाका पिछडिएको वर्गको प्रतिकात्मक विद्रोह थियो । त्यस्तै प्रतिकात्मक विद्रोह डा. बाबा साहेब भीम अम्बेडकरले भारतमा गरेका थिए । वर्ण व्यवस्थाको सकारात्मक व्याख्या हिन्दू सन्त, महात्माबाट पनि नभएको होइन । स्वामी विवेकानन्दका अनुसार संसारमा सबै मनुस्य समान हुन् । ईश्वरीय चेतना समान हुन्छ । तथापि, त्यसलाई पहिचान गर्ने क्षमता कुनै वर्गमा धेरै र कुनैमा कम हुन्छ । धेरै हुनेले कम हुनेलाई ज्ञानको माध्यमबाट माथि उठाउनुपर्छ । र, एक दिन संसारमा एउटै जात र एउटै धर्म हुन्छ । यहाँ विवेकानन्दले धेरै हुने वर्गलाई ब्राम्हण र थोरै हुने शुद्रलाई भनेका हुन् । उहाँ अगाडि भन्नुहुन्छ– कि प्राचीन ऋषिले समानताको प्रयास नगरेका होइनन । माधोगणका राजा रामले सवा लाख विभिन्न जातिका व्यक्तिलाई एकैपटक ब्राम्हण बनाएका थिए । यो एउटा साङ्केतिक रुपमा पूर्वजले रुपान्तरण गर्न गरिएको प्रयासको रुपमा लिन सकिन्छ । तथापि, बौद्धकालदेखि १२ शताब्दीसम्म आइसक्दा केही कथित समाजका उच्च वर्गले एकाधिकार स्थापित गरी त्यो वर्णव्यवस्था भान्साघरको छुवाछूत र मन्दिर प्रवेशमा निषेधको रुपमा खुम्च्याइसकेका थिए । फलस्वरुप पाँचौँ वर्ग दलितको जन्म भयो । यो नितान्त ब्राम्हणवादले नै हो । उनकै भाषामा केही कथित पाखण्डी ब्राम्हणवाद नै जातीय विभेदका आविष्कारक हुन् ।

माक्सवादी दर्शनलाई कुनै अमूक राजनीतिक दलको सफलता÷असफलताको रुपमा मात्र प्रासङ्गितामा बहस गर्ने गरिन्छ, त्यो नितान्त अल्पज्ञान भन्दा केही होइन । राजनीतिक पृष्टभूमि त लेनिनको एउटा सानो माक्र्सवादी व्याख्याको अंश मात्र हो । असलमा माक्सवाद समाज बदल्ने एउटा चेस्टा हो जुन धेरै ह्रदसम्म सफल छ ।

कुनै बेला वर्ण व्यवस्था अक्षरमंश सही भन्ने पूर्वीय बौद्धक समाज आज कम्तिमा वर्ण व्यवस्था कुहिएकोसम्म स्वारोक्ति गरिरहेका छन् । मुनस्मृतिको प्रासङ्गितामा बहस गरी रहेका छन् । त्यो माक्सवादको एक सफलता नै हो । कर्मकाण्ड यज्ञका सामु गौण बन्दै गएको दर्शनको व्याख्या हुनु माक्सवादी सामाजिक विद्रोहकै उपज हो ।

बौद्धले ल्याएको सामाजिक क्रान्ति कालान्तरमा पूर्ण हिन्दूत्वमा समाहित भयो । माक्सवाद जर्मनीमा जन्मियो तर त्यसको प्रभाव बुद्धको भन्दा कम थिएन । फरक यति हो, बुद्धमा संयमता थियो, अहिंसात्मक चेत थियो, माक्समा विद्रोह र क्रान्तिको चेतना थियो । तर, लक्ष्यमा त्यति भिन्नता पनि छैन ।

हिन्दू दर्शनका आन्तरिक विद्रोह, बौद्ध, जैन या माक्सवादी विद्रोहको उपजले आज धेरै हदसम्म त्यो विभेद किनारा लागि नै रहेको छ । मेरा हजुरबाको पुस्ताले जति विभेद बोक्यो मेरा बुबाको पुस्ताले बोकेन । आज मेरो पुस्ताले जति बोकिरहेको छ भोलिको पुस्ताले बोक्दैन । हाल रोजगारमा देखिएको पूस्ता वर्ग विभेद समाजबाट आएकै पिढी हो । हामी समाजमा वर्गीकृत मानसिकता बोक्ने तर अवसरमा समान प्रतिस्पर्धा खोज्ने अभ्यास गछौँ । समस्या त्यही नै छ ।

समाज रुपान्तरण नभई कसरी समान प्रतिस्पर्धा हुन्छ ? उड्छ भन्दैमा फोहोरको कीरा र सुगन्धित फुलमा हुर्किएको पुतली बीच समानता हुन्छ र ? आरक्षण स्थायित्व हुनु हुँदैन । २० वर्ष अघिको विश्लेषणकै आधारमा आरक्षण दिइनु पनि गलत छ । २० वर्षमा समाज केही हदसम्म पक्कै रुपान्तरण भएको नै हुन्छ । र, त्यो तबसम्म आवश्यक छ, जबसम्म समाजमा व्यावहारिक रुपंमै महिला–पुरुष दुई जात मात्रै रहँदैन । धेरैलाई यो जातीय राजनीतिको आवरण लाग्न सक्छ । यथार्थमा राजनीतिको रूपरेखा समाजिक व्यवस्थाले नै निर्धारण गर्ने हो । समाजमा जुन वर्गीय चिन्तन रहन्छ राजनीतिको रुप रङ त्यस्तै कोरिन्छ ।

केही कथित ब्राम्हणवादीले के बुझ्नु आवश्यक छ भने आरक्षण दया, माया, भिख दिइएको होइन । इतिहासका पाना पल्टाएर हेर्दा शास्त्रले वर्गीकृत गरेको चार वर्णमा पाँचौँ कसरी जन्मियो प्रस्ट बुझिन्छ । यदि उत्पीडित वर्गउपर गरिएको शोषण र आरक्षणलाई एउटै तराजुमा राखेर जोखी हेर शोषणकै पल्ला भारी हुन्छ ।
गौरादह–१, (हाल युएई)

Facebook Comments