add
विशेष स्थानीय खबर स्वास्थ्य

विवीताको शल्यक्रिया नगरेको कनकाई हस्पिटलको दाबी

बिर्तामोड, ३१ जेठ । उपचारका क्रममा मृत्यु भएकी विवीता तामाङको एपिन्डीसको शल्यक्रिया नगरिएको कनकाई हस्पिटल बिर्तामोडले जनाएको छ ।

सूर्योदय नगरपालिका–९ फिक्कलकी २१ वर्षीय तामाङको अवस्था अस्पतालमा ल्याउँदै जटिल भएकाले भेण्टिलेटरमा राखेर उपचार गरिएको तर एपिन्डीसको अपरेशन नगरिएको उपचारमा संलग्न जनरल सर्जन डा.सन्तोषकुमार मिश्रले दाबी गरे ।

एकसाता अघि उपचारका लागि आएकी तामाङको गत आइतबार मृत्यु भएपछि चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै पीडितका आफन्तले अस्पताल तोडफोड गरेका थिए । मृतकका आक्रोशित आफन्तले डा.मिश्रलाई कारवाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

‘जटिल अवस्थामा ल्याएकोले बिरामीलाई चेकअप गर्दा पिसाव बन्ने प्रक्रिया बन्द भएर अवस्था नाजुक भईसकेको थियो’, डा. मिश्रले भने, ‘ विरामीको शरिरमा ‘क्रिएटिनिना’ को मात्रा ३ दशमलव ५ थियो, एक किसिमले भन्ने हो भने यो मृर्गौलाले काम गर्न छोडेको अवस्था हो ।’ उनले भने, ‘त्यसबखत विरामीको प्रेसर न्यून भएको, भिडियो एक्स्रे गर्दा एपिन्डीसको लक्षण देखा परेको जस्ता जटिल अवस्थाका कारण हामीले अपरेशन गरेनौँ ।’

डा. मिश्रका अनुसार त्यस्तो विरामीलाई अपरेशन गर्नै मिल्दैन । ‘मृगौलाले काम गर्न छाडेको अवस्थामा ७ देखि १० दिनसम्म औषधी उपचार गरेर हेर्नुपर्ने हुन्छ’, उनले भने ।

‘हामीले आइसीयूमा राखेर उपचार अगाडि बढाएका थियौँ, दुई दिनसम्म अवस्था ठीकै थियो शनिबार विरामीको अवस्था झन नाजुक भएपछि विरामीका बाबुको सल्लाहमा भेण्टिलेटरमा राखेर उपचार गरियो’ डा. मिश्रले सुनाए । विरामीको रिपोर्ट गलत छ की भनेर हामीले अर्को अस्पतालमा क्रस चेक गर्न पनि पठायौँ, डा. मिश्रले भने, त्यहाँ पनि त्यस्तै देखिएपछि सक्दो प्रयास गरेको उनको भनाई छ ।

‘बाहिर समाचारमा जे कुरा आयो त्यो गलत छ’, अस्पतालका अध्यक्ष महेन्द्र राईले भने, ‘हामीले विरामीको एपिन्डीसको अपरेशन गरेकै छैनौँ कसरी अपरेशनका कारण मृत्यु भएको भनेर प्रचार भयो अचम्म लाग्यो ।’ ‘विरामीको अवस्था पहिले नै जटिल भएर आएकोले डाक्टरको सल्लाह अनुसार आइसीयुमा राखेर उपचार गरिएको, त्यसपछि भेण्टीलेटरमा राखिएको र विरामीको अवस्थामा सुधार नभएपछि आफन्तको सहमतीमा थप उपचारका लागि विराटनगर रेफर गरिएको हो, तर शल्यक्रिया गरिएको होइन’, अध्यक्ष राईले दाबी गरे ।

तामाङको स्वास्थ्यमा सुधार नभएपछि आफन्तको सल्लाहमै विराटनगरको नोबेल अस्पताल रेफर गरेको उनले बताए । तामाङलाई विराटनगर पु¥याउनासाथ नोबेल अस्पतालले मृत्यु भइसकेको बताएको थियो । उनको मृत्यु भएपछि आक्रोसित मृतकका आफन्तले कनकाई अस्पतालमा ढुङ्गामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

मृतकका आफन्त तोडफोडमा उत्रिएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले दिनभर तनाव नियन्त्रण गर्ने प्रयास गरेको थियो । सो अवस्थामा प्रहरीले लाठी चार्ज गर्दै ३ सेल अश्रु ग्याँस प्रहार गरेको थियो । प्रहरीको लाठी चार्जबाट सूर्योदय नगरपालिका इलामका जनप्रतिनिधि समेत घाइते भएका थिए ।

अस्पतालमा दिनभर तनाव भएपछि स्थितिलाई सामान्य पार्न जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दिनेशराज मैनाली, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मोहनकुमार थापा, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरीकुमार रानाको रोहबरमा मृतकका आफन्त र अस्पताल प्रशासन बीच राति २ बजेसम्म वार्ता भयो । बिर्तामोड नगरपालिकामा भएको वार्तामा २ बुँदे सहमति गर्दै वडानम्बर–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा ९ सदस्यीय छानविन समिति गठन गरियो । छानविन समितिले १० दिनभित्र सत्यतथ्य पत्ता लगाई नगरपालिकालाई प्रतिवेदन बुझाउनु पर्ने छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मैनालीले दुईपक्षीय वार्तामा २ बुँदे सहमति गर्ने निर्णय भएको तर क्षतिपूर्ति दिने नदिने अस्पतालको आन्तरीक विषय र टेक्निकल पाटो भएको बताए ।

छानवीन समितिमा सूर्योदय नगरपालिकाका तीलबहादुर राई, सोनम योल्मो, पेमा उर्गेन लामा, अस्पतालका तर्फबाट फडिन्द्र चापागाँई, अर्जुनधाराका स्वास्थ्य संयोजक मुकुन्द बस्नेत, बिर्तामोड नगरपालिकाका स्वास्थ्य संयोजक खगेन्द्रप्रसाद दंगाल, स्थानीय राजनीतिज्ञ ज्योती सिंह दर्नामी ,अर्जुनधाराका प्रत्युश राना रहेका छन् ।

सहमति अनुसार पिडीतलाई तत्कालका लागि समवेदना स्वरुप ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने, उपचारमा संलग्न चिकित्सकको लापरवाही भए नभएको छानविन गरी बिर्तामोड नगरपालिकामा प्र्रतिवेदन बुझाउने उल्लेख रहेको समितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले जानकारी दिए । संयोजक लिङ्देनले पनि मृत्यु भएकी युवतीको अस्पतालले शल्यक्रिया नगरेको स्विकारे । ‘अस्पतालले एपिन्डीसको अपरेशन गरेको होइन्’ उनले भने, ’तर बाहिर प्रचारमा चाहिँ अपरेशन गरेर मृत्यु भएको भनेर समाचार आयो ।’

बाहिरियो गोप्य सहमति
मृतकका आफन्त र अस्पताल प्रशासन बीच भएको २ बुँदे सहमतिमा तत्कालका लागि मृतकको समवेदना स्वरुप आफन्तलाई ५ लाख रुपैयाँ दिने उल्लेख छ । तर, छानविन समितिले प्रतिवेदन नबुझाउञ्जेल अस्पताल प्रशासन र पीडित पक्ष बीच भएको यो सहमति गोप्य राख्ने कुरा भएको थियो’, संयोजक लिङ्देनले भने, ‘कसरी त्यो कुरा बाहिरियो थाहा भएन ।’ अस्पताका अध्यक्ष राईले पनि क्षतिपूर्तिको विषय सार्वजनिक नगर्ने कुरा भएको स्विकारे ।

विज्ञ टोली गठन
छानविन समितिको बैठक बिहीबार बसेको छ । बैठकले संयोजक राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा ३ सदस्यीय अर्को विशेषज्ञ टोली गठन गरेको छ । विशेषज्ञ टोलीको सदस्यमा बिर्तामोड नगरपालिकाका स्वास्थ्य संयोजक खगेन्द्रप्रसाद दंगाल र अर्जुनधारा नगरपालिकाका स्वास्थ्य संयोजक मुकुन्द बस्नेत रहेको संयोजक लिङ्देनले जानकारी दिए ।

टोलीले घटनाको सत्यतथ्य छानविन गर्न मेची अञ्चल अस्पताल भद्रपुरबाट विज्ञ डाक्टर झिकाई विज्ञको सल्लाह सुझाव अनुसार अघि बढ्ने निर्णय गरेको लिङ्देनले बताए । १० दिनभित्र प्रतिवेदन बुझाउने जिम्मा पाएको छानविन समितिको बैठक दुईदिन देखि बस्न सकेको थिएन । पीडित पक्षका साथीहरुले पानी परेका कारण झापा आउन नसक्ने जानकारी गराएपछि यसअघि छानविन समितिको बैठक बस्न सकेको थिएन लिङदेनले भने ।

Facebook Comments