add
स्थानीय खबर स्वास्थ्य

कचनकवलमा पाठेघर क्यान्सरको जोखिम न्यून

कचनकवल, १ असार । बनियानी बजारकी मुनामाया भट्टराई ३९ वर्षकी भइन् । दुई वर्षअघि पाठेघरमा निक्कै पीडा भएपछि उनले चिकित्सकसँग परामर्श लिइन् । शुक्रबार सहारा नेपाल साकोसले बनियानी बजारमा सञ्चालन गरेको पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविरमा समस्या लिएर आएकी उनमा पाठेघरमा खराबी देखिएको थियो ।

पाठेघरको मुख दुख्ने समस्याले ग्रसित उनी तीन सन्तानकी आमा हुन् । पाठेघरको मुख पोल्ने समास्या भोग्दै आएकी उनलाई थप उपचारका लागि बिएन्डसी अस्पताल आउन चिकित्सकले सल्लाह दिएका छन् । महिलाको स्वास्थ्य जाँचका लागि शिविरमा खटिएकी बिएन्डसी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुनिता रायले भट्टराईको पाठेघरमा गम्भीर समस्या देखिएकाले थप उपचार आवश्यक रहेको बताइन् । चिकित्सकको परामर्शपछि उनी निर्धक्क भएर फर्किइन् ।

रोग लुकाएर बसेका गाउँदेहातका महिलालाई पाठेघर र प्रजनन सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहाराले यसअघि झापाको शिवगञ्ज र राजगढमा शिविर सम्पन्न गरिसकेको छ । सेवा लिन आएका प्रभावित महिलालाई डाक्टर सुनिता राय नेतृत्व टोलीले परामर्श र स्वास्थ्य–सुरक्षा विधिबारे सल्लाह दिएको छ । शिविरमा आएका महिलालाई खासगरी पाठेघरको संक्रमण कसरी रोक्न सकिन्छ भनेर चिकित्सक र स्वास्थ्यकर्मीले सजग गराइरहेका हुन्छन् ।

सहारा नेपालको जीवन वरदान कार्यक्रमअन्तर्गत झापा र मोरङका ग्रामीण क्षेत्रमा शिविर सञ्चालन भइरहेको छ । आफ्ना सदस्य र लघुवित्त समुदायलाई लक्षित गर्दै सहाराले समस्याका रुपमा रहेको पाठेघर रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यक्रम संयोजक भक्त खड्काले जानकारी दिए । एक स्थानको स्वास्थ्य शिविरमा सहाराले एक लाख रुपैयाँको हाराहारीमा खर्च गर्दै आएको छ ।

शिवगञ्ज, राजगढ र बनियानीमा विवाहित महिलाको स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले महिलामा सेतोपानी बग्ने साझा समस्या रहेको निष्कर्ष निकालेका छन् । त्यस्तै, पाठेघर झर्ने, समयमा महिनावारी नहुने, पाठेघरको मुखमा घाउ, मासु पलाउनेजस्ता प्रजननसम्बन्धी रोगबाट महिलाहरु पीडित रहेको रायले बताइन् ।

ग्रामीण भेगका महिलामा सरसफाइसम्बन्धी ज्ञान र सचेतना नभएको, सुरक्षित यौन सम्बन्ध नभएको तथा भाइरलका कारण पनि पाठेघरको समस्या देखिँदै आएको चिकित्सकको भनाइ छ ।

बिएन्डसी अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा भइरहेको शिविरमा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाले परामर्श लिएको खड्काले जानकारी दिए । रोगको जटिलता हेरेर सहाराले प्राथमिकतामा राखेर पीडित महिलाहरुको उपचार पनि निःशुल्क गर्ने योजना बनाएको छ ।

शिविरमा जाँच गराउन आएका केही महिला भने डरका कारण चिकित्सकको परामर्श नलिइकन फर्किए । बनियानी बजारछेउमा घर भएकी सर्जिउन निसा आफ्नो पाठेघर देखाउन डराइन् । ३० वर्षीया उनका तीन सन्तान छन् । ‘शिक्षाको कमिका कारण ग्रामीण महिलाहरु अझै पनि रोग लुकाउन बाध्य छन्’, जीवन वरदान कार्यक्रमकी संयोजक सुशीला बोहोराले भनिन्, ‘धार्मिक विश्वासले गर्दा पनि उनीहरु धकाउने गरेका छन् ।’

बनियानीकै ५० वर्षीया गुलसेरा मिया पनि शिविरसम्म आएर जाँच नगरी फर्किइन् । बिएन्डसी अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगका भइरहेको शिविरमा पाठेघरको क्यान्सर भएनभएको पत्ता लगाउने ल्याब परीक्षण पनि गरिएको थियो । तर, उनीहरुले लाजका कारण परीक्षण गराउन मानेनन् । प्राविधिकले पाठेघरको क्यान्सरको अवस्था के छ भनेर भिजुवल इन्स्पेक्सन विथ एसेटिक एसिड (भिआइए) परीक्षण गरेर रोग पत्ता लगाउने गरेको फेमेली हेल्थ प्रोग्रामकी कार्यक्रम संयोजक कल्पना विकले बताइन् ।

कचनकवलको शिविरमा १५० जना महिलाले स्वास्थ्य परीक्षण गर्नुका साथै तथा परामर्श लिएका थिए । त्यसमध्ये तीनजना महिलामा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेका छ । त्यस्तै, दुईजना महिलाको परीक्षण यकिन नभएकाले बायस्पी गर्नुपर्ने देखिएको संयोजक खड्काले जानकारी दिए ।

कचनकवलको शिविरमा १८ जनामा यौन संक्रमण, सातजनामा आङ खस्ने समस्या रहेको थियो । आठजना महिलाको पाठेघरको सल्यक्रिया गर्नुपर्ने भएकाले अस्पताल आउन सल्लाह दिइएको छ ।

शिवगञ्जको शिविरमा २९ जना महिलामा पाठेघरको क्यान्सरको पहिलो चरण, ५० जनामा आङ खस्ने समस्या र १५० जनामा यौनरोग फेला परेको थियो । राजगढको शिविरमा १० जना महिलामा पाठेघरको क्यान्सरको पहिलो चरण, २२ जनामा आङ खस्ने समस्या र १०१ जनामा यौनरोग फेला परेको थियो ।

Facebook Comments