add
अर्थ विशेष स्थानीय खबर

भद्रपुरमा असारे विकासको दुर्गतीः नाला भत्किँदै, सडक भासिँदै !

द्रोण अधिकारी
भद्रपुर, २८ असार ।
बहु वर्षे आयोजनामा पनि असारे बजेटको प्रभाव देखिन थालेपछि नियामकको नैतिकता पैसामा बिकेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । गुणस्तरीय काम गराउनु पर्ने नियामक निकाय ठेकेदारका गाडी घोडामा मस्त घुमफिर गर्ने अनि मापदण्ड विपरित निर्माण भएका संरचनाको बिल भौचर मिलाएर कमिशन बटुल्ने अभियानमा अलमलिएपछि नियामकको नैतिकतामाथि प्रश्न उठेको हो ।

भद्रपुर नगरपालिका क्षेत्रमामा भैरहेको सडक स्तरीकरण गुणस्तरहीन भएपछि नाली भत्कने, चर्कने र ग्राभेलिङको बजेट लिइसकेका सडकमा सवारी साधन भासिने क्रम रोकिएको छैन । सघन शहरी विकास कार्यक्रम अन्र्तगत ६ वटा प्याकेजमा भइरहेका अधिकाम्स कामको पहिलो, दोस्रो र तेस्रो चरणका नाली निर्माण सम्पन्न भएका भनिएका बिलभौचर मिलाइएका सडकमा गरिएको बेस ग्राभेलको कार्य निर्माण सम्झौता विपरित माटोमा केही ढुंगा मिसाएर असारे बजेटको शैलीमा गुणस्तरहीन काम गरिएपछि वर्षदसँगै नाली भत्कने, चर्कने, धसिने र सडकमा आवतजावत गर्ने सवारीका साधन भासिनेक्रम बढेको हो ।

निर्माण गुणस्तर हेर्ने जिम्मेवारी लिएको नियामकले निर्माण व्यवसायीलाई काम सच्याएर मात्र रकम भुक्तानी दिनु पर्नेमा असारे बजेट फिर्ता नगर्ने शैली अपनाएपछि निर्माणाधीन सडक समस्या बन्न पुगेको स्थानीयको आरोप छ । सडक नाली निर्माण र बेसग्राभेलिङका अधिकाम्स काममा कमसल निर्माण सामग्री राखेर निर्माण भएकै कारण प्राविधिक पक्षको नेतृत्व गरिरहेको सघन सहरी विकास कार्यालयले समस्याको जिम्मेवारी लिनु पर्ने स्थानीय बताउने गर्छन् । उल्टै कार्यालयले असारे वजेट भन्दै गुणस्तर नहेरी बिल भुक्तानी दिएर निर्माण ठेकेदारलाई पुरस्कृत समेत गरिरहेको उनीहरूको आरोप छ ।

भद्रपुर ८ शान्ति चौक स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय अगाडिको भद्रपुर—धुलावारी सडक खण्डमा झण्डै सय मिटर सडक पर्खाल धसिएर पल्टिएको छ । श्रेष्ठ कन्ट्रक्सन काठमाण्डौले निर्माण गरेको सो सडकको नालीको पर्खाल कमसल निर्माण सामग्री प्रयोग गरेर निर्माण गरेकै कारण पल्टिएको हो । ४ दिन अगाडि निर्माण सम्पन्नको प्रतिवेदन बनाएर सघन सहरी विकास कार्यालयले भुक्तानी दिएको रात धसिएर पल्टिएको छ । यस वर्षको अन्तिम किस्ता रकम भन्दै कामको गुणस्तर नहेरी कार्यालयले भुक्तानी दिइएको थियो । सो सडकमा गरिएको बेस ग्राभेल पनि कमसल रहेकै कारण सवारीका साधन आवत जावतमा समस्या उत्पन्न भएको छ । यता कम्पनीको प्राविधिक पक्षको नेतृत्व गरिरहेका सुदिप बानियाँ भने वर्षादका कारणले सडकको नालीको निर्माणाधीन पर्खाल ढलेको दाबी गर्छन् । उनका अनुसार यस वर्ष गरिसक्नु पर्ने काम कम्पनीले पूरा गर्ने क्रममा निर्मित पर्खाल ढलेको हो ।

काम गुणस्तरहीन भएको भन्दै सघन सहरी विकास कार्यालयमा स्थानीयको तर्फबाट हेम घिमिरेले एक महिना अगाडि निवेदन दिएर गुणस्तरीय काम गराइदिन अनुरोध सहित उजुरी दिएका थिए । तर, केही दिन काम रोके जस्तो गरेको नियामक सघन सहरी विकास कार्यालयले असार दोस्रोसाताबाट काम सुचारू गराइ भुक्तानीको बाटो खालिदिएको थियो । प्राविधिक पक्षको साथपछि निर्माण कम्पनीले कमसल काम गर्दा समस्या आएको स्थानीयको गुनासो छ ।

कर्मचारीसित कमिशनको नाता जोडेर कमसल काम गरिरहेका निर्माण व्यवसायीको पैसाको बलले प्राविधिक निरीह भएको स्थानीयको आरोप छ । ग्राभेलका क्रममा गिटी मिसिएको खस्रो बालुवा प्रयोग गर्नु पर्नेमा निर्माण कम्पनीले धुलो बालुवा र माटोको परिणाम बढी मिसाएर काम गरेकै कारण हिलो भएर सवारीका साधन भासिने अवस्था आएको हो । यस समस्याका बारेमा स्थानीय सरकार समेत मौन बसेपछि स्थलगत अनुगमनमा खटिएका प्राविधिकलाई कमिशन लिन सहज वातावरण निर्माण भएको स्थानीयको आरोप छ । आर्थिक वर्ष २०७३÷०७४ बाट काम सुरू भएका सडक निर्माण कम्पनीकाका कुनै पनि काम निर्माण ठेक्का सम्झौता अनुसार छैनन् ।

सडक स्तरीकरण योजनाका निर्माण व्यवसायीहरूले पहिलो चरणदेखि दोस्रो चरणसम्मका प्याकेज अन्र्तगत नाली निर्माण कार्यमा निर्माण सम्झौता विपरित काम गर्दा पनि सघन सहरी विकासका प्राविधिकले निर्माण कम्पनीलाई कुनै कारवाहीको प्रकृया चलाएका छैनन् । निर्माण अवधिमै नालीका वाल चर्कन थालेपछि कामको गुणस्तरमा स्थानीयले प्रश्न उठाइरहेका भए पनि नियामक जिम्मेवारी पाएको सघन सहरी विकास आयोजनाले ठेकेदारमाथि नियन्त्रण कायम राख्न सकेको थिएन । कमजोर नियामकको फाइदा उठाउँदै ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको प्रत्यक्ष असर अहिले स्थानीयले भोग्नु परेको छ । आधार ग्राभेलिङमा मिक्स गिटी प्रयोग गर्नु पर्नेमा माटो मिसिएको धुलो बालुवाले पुर्ने काम भएको थियो । ५ इञ्च मोटाइको ढलाइ हुनु पर्नेमा नालीका अधिकाम्स स्ल्यापमा ४ इञ्चभन्दा बढीका ढलान गरिएको छैन । गिटी बालुवा र सिमेन्टको परिणाम समेत सम्झौता बाहिर गरिएपछि समस्या देखिन थालेको हो ।

यस आयोजनामा श्रेष्ठ कन्ट्रक्सन काठमाण्डौले ३० किमी, गजुरमुखी कन्ट्रक्सन इलामले २३ किमी, खनाल कन्ट्रक्सन इलामले ६ किमी र पुष्पाञ्जलि जभी अरनिको हेविटस जलथलले ५ किमी सडक नाला निर्माणको जिम्मा लिएर काम गरिरहेका छन् । बहुवर्षे आयोजना अन्र्तगत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भइ रहेको छ । दुई अर्व रुपैयामा ५ वर्ष भित्र भद्रपुर नगरपालिका भित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ ।

Facebook Comments