add
अर्थ विशेष शीर्ष खबर स्थानीय खबर

झापाको कचनकवलमा कक्षा–१२ सम्म निःशुल्क शिक्षा

द्रोण अधिकारी
भद्रपुर, ३ साउन ।
झापाको कचनकवल गाउँपालिकाले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क घोषणा गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कक्षा–१२ सम्मको शिक्षा निःशुल्कको घोषणा गरेको हो ।
त्यस्तै, गाउँपालिकाले आगामी आवका लागि ४७ करोड ६० लाख विनियोजित बजेट प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा आन्तरिक श्रोततर्फ २ करोड, नेपाल सरकारबाट प्राप्त अनुदान १२ करोड ६० लाख, राजश्व बाँडफाड ९ करोड ६२ लाख र प्रदेश सरकारबाट ५५ लाख ४५ हजार, शसर्त अनुदान १६ करोड ३४ लाख, तराइ मधेस समृद्धि कार्यक्रम अन्र्तगत एक करोड, पूर्वाधार विकास कार्यक्रम २ करोड ५० लाख र अन्य २ करोड ९८ लाख ५५ हजार आय अनुमान सहित ४७ करोड ६० लाखको बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाका प्रमुख अञ्जार आलमको अध्यक्षता तथा संघीय संसद राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा वजेट सार्वजनिक गरिएको थियो । कार्यक्रममा बजेट प्रस्तुत गर्दै आलमले कक्षा १२ सम्म सबै विद्यार्थीलाई निशुल्क शिक्षाको घोषणा गरे । उनले छात्राहरूलाई क्याम्पस तहमा पनि निशुल्क शिक्षाको व्यवस्था गरिएको जानकारी दिए ।

उनले प्रत्येक वडाका एक एक विद्यालयमा नमुना बाल कक्षा सञ्चालन गर्ने, सवै माध्यमिक विद्यालयहरुमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने, अंग्रेजी माध्यमबाट गरिने पठनपाठनलाई प्राथमिकता प्रदान दिने, प्राथमिक स्वास्थ्य चौकी वनियानीमा मृगौला रोगीहरूका लागि डायलासिस सेवा सञ्चालन गर्ने, कृषि उत्पादन बढाउन खेत बा“झो नराख्ने शर्तमा कृषहरुलाई मोटर वोरिंग, मल विउ र औजार वितरणको व्यवस्था मिलाइने, माछापालन र आर्गनिक तरकारी खेतीमा विशेष प्रोत्साहन र अनुदानको व्यवस्था मिलाइने, बेरोजगार युवा लक्षित तालिम केन्द्र र स्वरोजगार कोषको स्थापना गर्ने, सिप भएका र तालिम केन्द्र मार्फत शिप सिकेका युवाहरुलाई साना घरेलु, कुटीर उद्योग र व्यवसाय संचालनका लागि अनुदान तथा ऋणको व्यवस्था मिलाउने, स्थानीय ३०० जना भन्दा बढीलाई रोजगार प्रदान गर्ने वातावरण मैत्री रोजगारमूलक उद्योग स्थापना गर्न चाहने उद्योगीलाई १० वर्ष सम्म सबै प्रकारका स्थानीय कर छुट दिने र विजुली बाटो लगायतका पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने, भौतिक पूर्वाधार विकास, लक्षित वर्ग उत्थान, आवश्यकताका आधारमा विनियोजित लक्ष्य सहितको बजेट प्रस्तुत गरेका थिए ।

Facebook Comments