add
स्थानीय खबर

झापामा बालकसहित दुई जनाको मृत्यु

बनियानी, २६ साउन । झापामा दुई भिन्न घटनामा बालकसहित दुई जनाको मृत्यु भएको छ ।
शनिबार राति हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका पैदलयात्री ३५ वर्षीय डम्बरबहादुर तामाङको आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीयबासी तामाङलाई ठक्कर दिँदा तामाङसहित मोटरसाइकल चालक बिर्तामोड–३ का ४५ वर्षीय देवबन्धु उप्रेती र मोटरसाइकलमा सवार १३ वर्षीय राकेश ठाकुर घाइते भएका थिए ।

प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरी टोलीले घाइते तीनै जनालाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी. अस्पताल पठाएकोमा पैदलयात्री तामाङको उपचारको क्रममा आज बिहान साँढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, झापाको भद्रपुर नगरपालिका–१० का बासुदेव जोगीको १२ वर्षीय छोरा सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

घरबाट शनिबार दिउँसो १ बजे नै हिँडेका बालक बेलुकासम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा राति करिब ८ः३० बजे बिष्णु कन्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक बालकको शवको कानूनी प्रक्रियापछि पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments