झापा, ६ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज झापाका चार स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका १५ स्थानीय तहमध्ये दुई गाउँपालिका बुद्धशान्ति, गौरीगञ्ज र दुई नगरपालिका मेचीनगर र गौरादहले उक्त अवसरमा आज सार्वजनिक बिदा दिएको छ । ती स्थानीय तहले सूचना जारी गर्दै बिदा बारे जानकारी गराएका छन् ।
नगरपालिकामा बसेको बैठकले बिदा दिने निर्णय स्वीकृत गरेको मेचीनगर नगरपालिकाका नगरप्रमुख बिमल आचार्यले जानकारी दिनुभयो ।
‘स्थानीय तहले स्थानीय चाडपर्वमा बिदा दिन पाउने कानूनी व्यवस्था छ’, उहाँले भन्नुभयो, ‘नगरपालिकामा भएको बैठकबाटै बिदा स्वीकृत गरेका हौँ ।’
गाउँपालिकाको हिजो बसेको बोर्ड बैठकले जन्माष्टमीमा बिदा दिने निर्णय गरेको गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताउनुभयो ।
त्यस्तै, अन्य दुई पालिकाले पनि स्थानीय सूचना जारी गर्दै बिदा बारे जानकारी दिएका हुन् ।
यसैबीच, झापाको भद्रपुर र गौरादहमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य रथयात्रा निकालिने भएको छ । विगत १७ वर्षदेखि भद्रपुरमा रथयात्रा निकालिँदै आएको छ भने यस वर्षदेखि नगरपालिकाको संरक्षत्वमा प्रविधियुक्त नयाँ रथयात्रा निकाल्न लागिएको छ ।
भद्रपुरमा अघिल्ला वर्षहरु विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा रथयात्रा निकाल्ने गरिएको थियो । नगरपालिकाले १० वटै वडाको अपनत्व हुने गरी धार्मिक, सामाजिक संघ–संस्थाको सहभागितामा ९ सदस्यीय रथयात्रा मूल समारोह समिति निर्माण गरी यात्रा तयारी पूरा गरिसकेको छ ।
नगर प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुरको पहिचान र गौरबका रूपमा रथयात्रा स्थापित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको र रथयात्रा नगरबासीको साझा बनाउने प्रयास थालिएको बताउनुभयो ।
त्यस्तै, गौरादह नगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरले विगत ५ वर्षदेखि रथयात्रा आयोजना गर्दै आएको छ । रथयात्रा लागि नगरपालिकाबाट रू ५० हजार र वडा नं. १ कार्यालयबाट रू ५० हजार सहयोग गरेको आयोजक संस्था राधाकृष्ण मन्दिरकी कोषाध्यक्ष शान्ता दाहालले जानकारी दिनुभयो ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा जिल्ला विभिन्न स्थानका मन्दिरमा झुलन झुला, भजनकीर्तन, नाचगान हुने गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।