add
विचार विशेष

रवि लामिछाने र विधिको शासन

सन्तोष शर्मा
अहिले देश एउटा विषयले तातेको छ । त्यो हो– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्नु । लामिछानेलाई बिनाकारण पक्राउ गरेर फसाउन खोजको भन्दै देशभर विरोध भइरहेको छ । विदेशी भूमिमा समेत उनका समर्थकले विरोध गरिरहेका छन् । रविका समर्थक ‘निर्दोषलाई फसाउन लागियो’ भन्दै सडक, सामाजिक सञ्जालमा विरोध गरिरहेका छन्, यो एउटा शुभचिन्तकले आफ्नो विचाराधिनस्त व्यक्तिप्रति गर्ने कार्य हो ।

सन्तोष शर्मा

झापामा पनि ठाउँ–ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् । अहिले बिर्तामोडको मुक्तिचोकमा दिनहुँजसो प्रदर्शन हुन्छ । जिल्लाका अरु क्षेत्रमा पनि भइरहेकै होलान् । मुक्तिचोकबाट हिँड्दै गर्दा एउटा युवाको समूह रविकै समर्थनमा नाराबाजी गर्दै थियो । र, केहीले भाषण–भूषण पनि गरिरहेका थिए । यो सिलसिला देशभर भइरहेको छ ।

टेलिभिजन पत्रकार शालिकराम पुडासैनी ‘आत्महत्या’ (घटनाको प्रकृति, उनको शरीरमा रहेको चोट इत्यादिले ‘हत्या’ भएको पनि हुन सक्छ) को घटनामा उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । जुन स्वाभाविक हो । कुनै पनि घटनामा कुनै पनि व्यक्तिको नाम जोडिन आएमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्न सक्छ । अहिले जहाँसम्म लाग्छ, त्यही भएको हो ।

मृत्युको कारण जे भए पनि यो एउटा दुःखद् पक्ष हो । जन्मँदा खुसी र मृत्यु हुँदा दुःख मावनीय कुरा हुन् । तर, अहिले एउटाको मृत्यु भन्दा व्यक्ति पक्राउको घटनामा समाजको ठूलो हिस्सा समवेदित भएको छ । यो पनि एउटा दुःखद् पाटो हो ।

रवि निर्दोष छन् भने उनलाई इज्जतका साथ रिहा गर्नुपर्छ । यो कुरामा सबैको एकमत छ । तर, कहीँकतै दोषी छन् भने पनि कारबाहीको भागिदार हुनुपर्छ । कसैले आस्था, सहानुभूति र बद्नियतले दोषी वा निर्दोष भनेर भन्दैमा कोही दोषी भइहाल्ने र निर्दोष भइहाल्ने होइन । कसैको हत्या सामान्य विषय होइन । यो एउटा जघन्य अपराध हो । त्यसैले प्रहरीले कसै–कतैको प्रभावमा नपरी यो घटनाको चुरो पत्ता लगाउन सक्नु पर्छ ।

नेपाल विकासोन्मुख देश हो । लामो राजनीतिक अस्थिरताबाट बल्ल तल्ल एउटा स्थिरताको ‘ट्रयाक’मा हिँड्ने कोसिस भइरहेको छ । भ्रष्टाचार, कमिशन, हरेक क्षेत्रमा बेथिति व्याप्त छ । यो नेपाली समाजको यथार्थ हो । न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, निजी क्षेत्र, सहकारी सबै क्षेत्रमा बेथितिका चाङ छन् । यो कुरामा जति नै विमती, तर्क, बहस गरे पनि यथार्थ यही हो । यसको चाहे पक्षमा वकालत गर्ने होस् वा विपक्षमा । उनीहरुले आफ्नो हृदयमा हात राखेर भन्ने हो भने कटुसत्य यही हो ।

मुलुकमा यस्ता विकृतिको चाङ भएका बेला टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लिएर आएका हुन्– रवि लामिछाने । उनले देखा–अन्देखा धेरै विकृति टेलिभिजनमा देखाए । कर्मचारीको घुस काण्ड, नेताको शक्तिको दुरुपायोग, सार्वजनिक पद धारण गरेका व्यक्तिको अनुचित कार्य, विदेशमा नेपालीले पाएको दुःख–सास्ती, बेचिएकी चेलीको व्यथा, बलात्कार, हत्या, महिला हिंसा जस्तो जघन्य अपराधमा अनुचित फाइदा लिएर घटना लुकाउन खोजेको आदि–इत्याधिका घटना टेलिभिजनमा देखाएकै कारण उनी अहिले ‘नायक’का रुपमा देखिएका हुन् ।

सकारात्मक भन्दा नकारात्मक कुराको चर्चा छिटो हुन्छ । मानिसको साचोको विषय पनि नकारात्मक कुरामा बढी हुन्छ । त्यसमा पनि अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमितताका कुरा सगम्र चासोको विषय हो । यस्ता कुरामा रवि केन्द्रित भएकाले पनि उनीप्रतिको जनउभार देखिएको हो । उनी आफैँमा कति सत्य र कोरा छन् भन्ने कुरा उनैलाई बढी थाहा हो वा उनका शुभचिन्तक एवम् विरोधीलाई ।

अब चर्चा गरौँ विधिको शासनको । सही विधिबिना गरिएको शासन सुशासन हुन सक्दैन । सही शासन हुनका लागि सही विधि अनिवार्य हुन्छ । राज्यको हरेक कामकारबाहीमा पादर्शिता हुनु आवश्यक हुन्छ । राम्रो काम गर्नेलाई सम्मान, गलत गर्नेलाई कारबाही, पीडितले न्याय पाउनु पर्छ । ठूलालाई चैन, सानालाई ऐन हुनु हुँदैन । तर, वर्तमानको यथार्थ चाहिँ ठूलालाई चैन, सानालाई ऐन जस्तै छ ।

गरिब, अविकसित, अल्पविकसित, विकाशोन्मुख मुलुकमा विधि भन्दा पनि व्यक्तिको शासन बढी चल्छ । निश्चित व्यक्तिले आफ्नो इच्छा अनुसार बहुसंख्यक जनतालाई शासन गरिरहेका हुन्छन् । जसको परिणाम नागरिकको जनजिविकामा परिवर्तन आउँदैन । सुशासनको अनुभूति गर्न पाउँदैनन् । यस्तो अवस्थामा कसैले विकृति, विसंगती, अन्याय, अत्याचार, भ्रष्टाचार, कमिशनखोरीको कुरा गर्न थाल्छ भने उही जनप्रिय बन्छ । अहिलेको परिप्रेक्ष्यमा पनि भएको यही हो ।

विकसित मुलुकमा रवि लामिछाने जस्ता मानिसको नाम कमै सुनिन्छ । किनकि, त्यहाँ विधिको शासन चल्छ । त्यहाँ दण्डहीनता छैन । उच्च पदस्थदेखि तल्लो तहका कर्मचारी, राजनीतिकर्मी, नेता, व्यापारी जेजस्तो पद वा आर्थिक हैसियतमा भए पनि गलत काम गर्नेले उन्मुक्ति पाउँदैन ।

ठूला व्यापारीले लुटतन्त्र मच्चा पनि छुट भइरहेका छ भने साना फुटपाथमा बसेर व्यापार गर्नेलाई सास्ती छ । ५–१० हजार घुस खाने कर्मचारी पक्राउ परेको समाचार दैनिकजसो आउँछ । तर, करोडौँ घोटाला कर्मचारी, नेताहरुको न समाचार आउँछ न त कुनै कारबाही भएको देख्न सकिन्छ । सबै कुरा छर्लङ्ग भए पनि अन्देखा भइरहेको छ ।

अहिले सडक, खानेपानी, पुल–पुलेसा लगायतका भौतिक पूर्वाधार विकासमा संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार जसको मातहतमा विकास निर्माणका कार्य भए पनि किन त्यो अलपत्र छ कि गुणस्तरहीन काम भएको छ । त्यसको मुख्य कारण हो कमिशन । यो कुरा नेता, कर्मचारी, जनप्रतिनिधि सबैलाई थाहा छ । तर, न कसैले कारबाही गर्छ, न कुनै जवाफदेहिता नै प्रस्तुत गर्छ । किन यस्तो भइरहेको छ ? यसको एउटै कारण हो– मिलिभगत भ्रष्टाचार । अनि किन रवि लामिछानेलाई समर्थन वा गाली गर्नु । कारण त हामी स्वयम् हौँ ।

त्यसैले अब सबैले विधि र व्यवस्थालाई स्वच्छ बनाउन तिर लागौँ । त्यसो गर्न सकियो भने न कुनै रवि लामिछाने बन्ने छन् न त तातो घाममा हामीले नाराबाजी र प्रदर्शन गर्नुपर्ने दिन आउने छ ।

Facebook Comments