बिर्तामोड, ११ भदौ । झापाको दक्षिण क्षेत्र महाभाराका रमेश श्रेष्ठलाई सानैदेखि सवारीसाधान प्रति औधी चासो थियो । समयक्रमसँगै उनी यातायात क्षेत्रमा आवद्ध भए । सह–चालकबाट यातायात क्षेत्रमा प्रवेश गरेका उनलाई चालकले बेलाबेलामा दिएको मौका नै सवारी चलाउन सिक्ने अवसर बन्यो ।
झापादेखि काठमाडौँ, भैरहवा लगायत विभिन्न स्थानमा पुग्ने गरेका उनी त्यो दिन सम्झिँदा अहिले पनि झसंग हुन्छन् । २०६३ पुसमा झापादेखि काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुदाँ पाँच जनाले ज्यान गुमाएका थिए भने चालक गम्भीर घाइते भएका थिए । उनले लामोबाटोमा थकाई लागेर सवारी दुर्घटना हुन पुगेको बताए । उनी भन्छन्, ‘एउटै चालकले सवारी चलाउनु पनेर् बाध्यता थियो, थकित शरीर कतिबेला के हुन्छ पत्तै पाइँदैन ।’
इलामका सुरेश राई २०७० सालमा बिर्तामोडबाट इलामतर्फ जाँदै गर्दा किटेनीमा भएको सवारी दुर्घटनामा परी अपाङ्ग भए । उनी अहिले सम्झन्छन्, ‘मोटरसाइकलमा सवार थिएँ, ट्याकसीले ठक्कर दियो धन्न हेलमेट लगाएको रहेछु र ज्यान बाच्यो ।’ खुट्टा गुमाउनु परे पनि ज्यान बाँचेका उनले खुशी व्यक्त गरे । यी त प्रतिनिधि घटना मात्रै हुन् । सवारी दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् भने धेरै घाइते अवस्थामा जीवन गुजारी रहेका छन् । सरकारसँग हालसम्म कतिले सवारी दुर्घटनामा परी अपाङ्गताको जीवन बिताई रहनुपरेको छ भने कुनै आधिकारीक तथ्याङ्क छैन ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक भीम दाहाल मानिसले मानवीय चेतना गुमाएकै कारण धेरै दुर्घटना हुने गरेको बताउँछन् । प्रदेश–१ का १४ जिल्लामा दुर्घटनाका कारण दैनिक एक जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ । सवारी दुर्घटनाका कारण गत आर्थिक वर्ष २०७५÷०७६ मा तीन सय ७४ जनाले ज्यान गुमाएका थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा चार सय २४ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्षमा १२ दशमलव ५ प्रतिशतले मृत्युदर घटाउन प्रदेश प्रहरी सफल भएको प्रहरी उपरीक्षक दाहालले बताए ।
उनका अनुसार ९२ प्रतिशत मानवीय चेतना गुमाएकै कारणले दुर्घटना हुने गरेको छ । ४३ प्रतिशत लापरबाहीका कारण, ४० प्रतिशत तीव्र गतिका कारण र ९ प्रतिशत मादक पदार्थ सेवन (मापसे) का कारण दुर्घटना हुने गरेको छ । उनले सडकको अवस्था बिग्रदै गएको तथा सडकमा दैनिक सवारी थपिने क्रम नरोकिएका कारण पनि दुर्घटना बढेको बताए । उनले छिट्टै प्रदेश–१ मा विद्यालय तहमा नै पाठ्यक्रम लागू गनेर् हिसाबले आफूले गृहकार्य गरिरहेको जानकारी दिए ।
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ५ वर्षअघिदेखि सञ्चालनमा आएको रिफ्रेसमेन्ट सेन्टर आवश्यक नभएको बताएको छ । दुर्घटना न्यूनीकरणका लागि भन्दै लामो दूरीका गाडी चलाउने चालकहरुका लागि ट्राफिक प्रहरीले नै रिफ्रेसमेन्ट सेन्टर (आराम कक्ष) बनाएको थियो । आर्थिक वर्ष २०७०÷०७१ मा तत्कालीन ट्राफिक प्रहरी प्रमुख सूर्य सुवेदीले रिफ्रेसमेन्ट सेन्टर निर्माण गरे पनि हाल उक्त सेन्टर बन्द रहेको छ ।
दमकस्थित आदिवासी रंगशाला नजिकै पाँडाजुगीमा ट्राफिक प्रहरीले सञ्चालन गरेको रिफ्रेसमेन्ट सेन्टर हाल बन्द छ । काठमाडौँसहित लामो दूरीमा सवारी हाँक्ने चालकहरुका लागि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमकमा रिफ्रेसमेन्ट सेन्टरको स्थापना गरिएको थियो । लामो दूरीका गाडी केहीबेर रोक्न लगाई पानी र चिया खुवाएर रिफ्रेस बनाउने उद्देश्यका साथ यो सेन्टरको स्थापना गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।
मेचीनगर–१३ चारआलीमा रहेको नेपाल आयल निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएको छ ।
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाबाट आउने सवारीसाधन चारआलीको सोही सडक हुँदै चन्द्रगढी जाने गर्छन् तर बाटोभरि ट्याङ्करको अव्यवस्थित पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ । निगमको कार्यालय परिसर छ बिघाको मात्र छ । साँघुरो परिसर भएकाले निगमभित्रै खाली ट्याङ्करलाई पार्किङको व्यवस्था मिलाउन नसकिएको कार्यालयका सूचना अधिकारी लोकमणि पौडेलले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।