अर्थ कृषि

बन्द भयो चियाको अक्सन केन्द्र

झापा, १० साउन । चियासम्बन्धी पहिलो अक्सन केन्द्र पूर्णरूपमा सञ्चालनमा नआउँदै बन्द भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को बजेटमा समावेश पनि नगरिएको र बजेटसमेत उपलब्ध नगराइएकाले मुलुककै पहिलो र एक मात्र अक्सन केन्द्र बन्द भएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि बजेट उपलब्ध नगराउँदा अक्सन केन्द्र बन्द भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । पूर्ण रूपमा सञ्चालनमा नआए पनि सरकारले पछिल्लो पाँच वर्षदेखि उक्त केन्द्रका लागि बजेट छुट्टयाउँदै आएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एनटीआईएस आयोजनाबाट उक्त बजेट छुट्टयाइँदै आएको थियो ।

‘तर चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा अक्सन केन्द्रलाई समावेश गरिएन,’ बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले भने, ‘बजेट नआएपछि तत्कालका लागि यसको सञ्चालन कार्य बन्द भएको छ ।’ बजेट नआएपछि बहालमा लिइएको घरसमेत अहिले छोडिएको छ । बोर्डका अनुुुुसार प्राप्त भएको बजेटबाट झापाको बिर्तामोडमा घर वहाल गरी तत्कालका लागि अस्थायी अक्सन केन्द्र सञ्चालनमा ल्याए पनि सरकारले प्रस्ट नीति तयार नगरिदिँदा उक्त अक्सन केन्द्र पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन ।

अक्सन केन्द्रका लागि बोर्डले वार्षिक रूपमा तीन लाख रुपैयाँ घरभाडा बापत खर्च गरे पनि राज्यको अदूरदर्शी नीतिका कारण उक्त केन्द्र पूर्णमा सञ्चालनमा आउन सकेको थिएन । बोर्डले अक्सन केन्द्रमार्फत चियाको कारोबार गर्न किसान र व्यापारीलाई प्रोत्साहन गर्न ६० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ताको सुविधा र अक्सन केन्द्रमा राखिने चियालाई धितोमा राखेर कम्तीमा ६ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने नीति तयार पारेको थियो ।

‘तर उक्त नीति राज्यबाट स्वीकृत नहुदा किसान र व्यापारी अस्थायी अक्सन केन्द्रमा कारोबारका लागि चासो नै देखाएनन्’, कार्यकारी निर्देशक गौतमले भने, ‘कम्तीमा यो नीति आइदिएको भए किसान र व्यापारी अक्सन केन्द्रप्रति चासो राखेर त्यहीबाट कारोबार गर्न इच्छुक हुन्थे ।’

क्रेता र बिक्रेता जम्मा भएर चियाको गुणस्तरअनुसार निश्चित मूल्यमा खरिदबिक्री सम्झौता गर्ने थलोलाई अक्सन केन्द्र भनिन्छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका एक अधिकारीका अनुसार व्यापारी र किसानलाई अक्सन केन्द्रमार्फत कारोबार गर्न राज्यबाट प्रोत्साहनबापत सुुुुविधा उपलब्ध नभएकाले उनीहरू उक्त केन्द्रलाई त्यति रुचाउन सकेनन् । चियाको कुल कारोबारमध्ये तीन चार जना सबैभन्दा ठूला कारोबारी छन् ।

‘कुनै सुविधा नदिएपछि ठूला कारोबारी नै अक्सन केन्द्रबाट बिच्केर कारोबार गर्न आउनै मानेनन्,’ मन्त्रालयका स्रोतले भन्यो ,‘अक्सन केन्द्रमा नभए पनि गत आर्थिक वर्षसम्म सरकारले चियामा ५० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता सुविधा दिएको थियो। व्यापारीहरू बाहिर कारोबार गरी यो सुविधाको उपभोग गरे ।’ चालु आर्थिक वर्षमा भने सरकारले यो सुविधा हटाएको छ ।

आर्थिक वर्ष २०७०÷७१ देखि २०७३÷७४ सम्ममा गरी यो अक्सन केन्द्रका लागि ९९ लाख १८ हजार रुपैयाँ खर्च भइसकेको छ । हालै देशभरको चिया खेतीको सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको तथ्यांक विभागका अनुसार नेपालको १४ जिल्ला ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुट्टा, तेह्थुम, पाँचथर, ईलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यवसायिक रूपमा चिया खेती भइरहेको छ ।

देशभर उत्पादन हुने चियालाई अक्सन केन्द्रमा पु¥याइ स्वाद र गुणस्तरको आधारमा चियाको प्रारम्भिक मूल्य निर्धारण गर्ने व्यवस्था छ । यसरी प्रारम्भिक मूल्य निर्धारण भएपछि अक्सन केन्द्रमा सदस्यता प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय मध्यस्थकर्ताबीच उक्त चियाको मूल्यको बारेमा पुनःमूल्य बढाबढ प्रक्रिया हुन्छ ।

Facebook Comments