add
समाज

उर्लाबारीको नमुना अनाथ आश्रममा २० कोठे छात्रावास

उर्लाबारी, २५ भदौ । मोरङको उर्लाबारी–७ स्थित नमुना बाल गृह अनाथ आश्राममा २० कोठाको दुई तले छात्रावास भवन निर्माण हुने भएको छ । सो भवन मंगलबार शिलान्यास गरिएको छ । करिव एक करोड ५० लाख रुपैयाँको लागतमा सो भवनको निर्माण कार्य सम्पन्न गरिने छ ।

लायन्स क्लब अफ इन्टरनेशनलको एक लाख अमेरीकी डलर र कुल लागतको ३० प्रतिशत रकम स्थानीय चारवटा लायन्स क्लबले बिहोर्ने गरी सो भवन शिलान्यास गरिएको हो । लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ आस्था, लायन्स क्लब अफ ईष्टन मोरङ र लायन्स क्लब अफ विराटनगरले सो रकम विहोर्न लागेको हो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले एक कार्यक्रमका बीच सो भवनको सिलान्यास गरेका हुन् ।

अनाथलय निर्माण परियोजनाका अन्तर्राष्ट्रिय संयोजक लिला ढुङ्गेलको अध्यक्षता र उर्लाबारी नगर प्रमुख फागोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा लायन्स क्लबका अन्तर्राष्ट्रिय लिडर खगेन्द्र सिटौला, लायन्स क्लब अफ इन्टरनेशनलका गर्भनर इन्द्रबहादुर खत्रीलगायतले बोलेका थिए । सो भवन निर्माणका लागि लायन्स क्लब अफ उर्लाबारीका पूर्व अध्यक्ष बालचन्द्र सुब्बाको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ । समितिले आगामी ६ महिनाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्ने भवन निर्माण समितिका संयोजक सुब्बाले बताए ।

Facebook Comments