add
विशेष समाज स्थानीय खबर

झापाली शिक्षित समाजको कुरुप दृष्यः दलितको छोरी भएकैले ससुराको काजकिरियाबाट अलग

राजन ठटाल । सुष्मा तिखत्री
अर्जुनधारा, २८ भदौ ।
झापाको अर्जुनधारा नगरपालिका वाड नं. १ स्थित बगर टोलमा गत शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भयो । श्रेष्ठको निधनपछि छरछिमेकी दाजुभाई बीच ठूलै खैलाबैैला भयो । श्रेष्ठकी कान्छी बुहारी दलित भएकाले उनलाई छेउमा गएर छुन पनि दिइएन ।

श्रेष्ठका कान्छा छोरा दिलिपले इलामकी अमृता परियारसँग सात वर्ष अघि विवाह गरेका हुन् । विवाह पश्चात उनीहरुको परिवार एकै भएर बसेको थियो । श्रेष्ठको निधनपछि दलितकी छोरी बुहारी भएकाले बोलाएको पण्डित पनि आएन । आफू दलितकी छोरी भएको कारणले पण्डित नआएको अमृताले बताइन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले एकै ठाँउमा बस्न गाह्रो भएपछि अमृताले घर छेउमा एउटा झुप्रो बनाएर बसेकी छन् । उनले सोही घरमा एक्लै ससुराको जुठो बार्दै आएकी छन् । उनलाई कसैले पनि बोलाउँदैनन् ।

आर्थिक अवस्था कमजोर भएकाले दिलीप लागि वैदैशिक रोजगारीका लागि साउदीमा छन् । बिदा नमिलेका कारण दिलिप नेपाल नआएको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारमा कसैले पनि जातीय विभेद नगरे पनि उनी समाजले गर्दा विभेदमा परेकी छन् । अमृता भन्छिन्, ‘समाजमा समानताको कुरा जोडतोडका साथ उठे पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण मा अझै फरक आएको छैन ।’

अमृतालाई सबै जातजाति बराबरी नै भएको जस्तो लाग्थ्यो त्यही भएर आफूले दिलीपसगँ विवाह गरेको उनको भनाइ छ । तर, ससुराको निधनपछि उनले समाजको वास्तविक रुप थाहा पाएको बताइन् । ‘परिवार शोकमा परेको बेला समाजका शिक्षित र समाजका अगुवा भन्नेहरु नै विभेद गरे’, उनले भनिन् ।

समाजका केही टाठाबाठाले नै ‘तिम्रो बुहारी सँगै किरियामा बसिन् भने तिम्रो श्रीमानले स्वर्गमा बास पाउँदैनन्’ परिवारलाई भनेको उनले सुनाइन् । ‘दलितकी छोरीहरुले आफूभन्दा माथिल्लो जातका केटासँग विवाह नै नगरुन्’, उनले भनिन्, ‘समाजले सबै जाति समान हुन्छ भने पनि मृत्यु र विवाहमा छेक्छ ।’

‘श्रीमान्को निधन भयो, बिदेशमा भएको छोरा पनि घरमा आउन सकेन, घरकी जेठी बुहारी सुत्केरी भएकी छे र माइली बुहारी पनि धिमालकी छोरी भएकाले उसलाई हामीसँगै समाजले किरियामा बस्न दिएन’, श्रीमान् गुमाएको पीडामा डुबेकी इन्द्रमायाले भनिन्, ‘हामीसगँ केही नभएर हो कि हाम्रो बुहारी दलित र धिमालकी छोरी भएकाले श्रीमान्को मृत्यु भयो गाउँका मान्छेलाई पण्डित बोलाउन लगाएको कोही पनि आएनन् । अनि लाशलाई खोला लगियो जलाइयो र घर आएर चार दिनसम्म पण्डित बिनै किरीया बारियो, श्रेष्ठ समाजका मानिसले थाहाँ पाएपछि पण्डित खोजेर अहिले ल्याइ दिएका छन् ।’

कसैले समाजमा जातको आधारमा कसैलाई विभेद गर्छ भने त्यो दण्डनीय हुने अर्जुनधारा नगरपालिका–१ का वडा सदस्य माधव आचार्यले बताए । उनले पीडितले प्रहरी कार्यालय र नगरपालिका निवेदन पेश गरे कानूनतः कारबाही हुने बताए ।

Facebook Comments