add
विशेष साहित्य स्थानीय खबर

सहिद पिताको सपना

दीपक चापागाईं
क्रान्तिमा बलिदान दिएको मेरो छोराले
सपनामा सधैँ मलाई सोध्ने गर्छ
बा मेरो बलिदानी आलो रगतले
लेखिएका परिवर्तनका आवाजहरु
शोषित पीडितहरुको आवाज बुलन्द पार्न
अन्याय र अत्याचार गर्नेहरुलाई खरानी पार्न ।
भ्रष्ट, विचौलिया दलालहरुलाई कुल्चदै
राष्ट्रघाति र देशद्रोहीहरुलाई उठ्नै नदिन
शासन व्यक्तिको होइन, विधिको बनाउन
समुन्नत नयाँ नेपाल निर्माणको निम्ति
मेरो बलिदानी रगतका थोपाहरु
यो देशको माटोमा सिञ्चित गरेको हुँ ।

आज मेरो आत्मा पीडामा छटपटाइरहेको छ
मेरो रगतलाई बागमतीमा मिसिएको
ढल सम्झिएर बेवास्था गरिरहने हो भने
मेरो चिहानबाट शान्ति, समृद्धिको विगु्ल फुक्दै
सबै खाले विकृति र विसंगतिको अन्त्य गर्न
नेपाली जनताको चाहनालाई पूरा गर्न ।
फेरि पनि म यहां जन्मनै पर्ने हो भने
हिजो आजका शासक वर्गहरुको निम्ति
यमराजको आज्ञा लिएर फेरि पनि
हिटलर भएर जन्म लिनेछु बुबा ।

त्यसैले बुबा हजुरसँग सादर बिन्ती गर्छु
बाटो बिराएकाहरुलाई सम्झाई दिनुहोस्
दिउँसो निदाएकाहरुलाई बिउझाइ दिनुहोस्
दम्भ बोकेका शासकलाई झस्काइ दिनुहोस्
नीति, सिद्धान्त लत्याउनेहरुलाई सुझाइ दिनुहोस्
घुसखोरी, भ्रष्टाचारी, अत्याचारीलाई भनि दिनुहोस्
राष्ट्रघाति, देशद्रोहीहरुलाई जानकारी दिनुहोस्
त्यो दिन तिनीहरुको निम्ति घातक बन्न सक्छ ।

कृपया तपाईंहरु नै मलाई बताइ दिनुहोस् ।
फेरि आज राति सपनीमा छोराले सोध्यो भने
उसको आत्मा चिरशान्तिको कामनाका लागि
फेरि सपना नदोहोरिने गरी म के जवाफ दिऊँ ?

Facebook Comments