add
खेलकुद स्थानीय खबर

हाम्रो पूर्वाञ्चल गोल्डकपको तयारी पूरा, अन्नपूर्ण सहकारीको मुख्य प्रायोजक

बिर्तामोड, ६ असोज । जायोन स्पोर्टस् क्लब बिर्तामोडको आयोजनामा हुन लागेको ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप–२०७६’ को तयारी पूरा भएको छ ।

क्लबले सिटी पार्टी प्यालेस बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको मुख्य प्रायोजक र तयारीबारे जानकारी दिएको हो । असोज ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजन बिर्तामोडस्थित अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाले गर्ने भएको छ भने प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भइसकेको महेन्द्र पाण्डेले जानकारी दिए । ‘मुख्य प्रायोजक टुंगो लागेसँगै प्रतियोगिताको नाम अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप राखेका छौँ’, उनले भने ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न पाँच वटा उपसमिति समेत गठन गरिएको छ । खेल समिति संयोजक अविनश राई, आर्थिक समिति संयोजक दिपेन्द्र अछामी, प्रचारप्रसार समिति संयोजक सुमन मंराती, स्वयम् समेवक समिति संयोजक नगेन्द्रमणि लिम्बू, बसोबास व्यवस्थापन समिति संयोजकमा गोपाल राई रहेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । आर्थिक व्यवस्थापनका लागि विभिन्न संघसंस्थासँग सहयोग र सहकार्यका लागि पहल भइरहेको क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले बताए ।

प्रतियोगितामा विदेशी टिम सिक्कीम आक्रमक, मोलवे आसामसहित आठ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा स्वदेशी छ टिम झापा–११, त्रिभूवन आर्मी क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब र गोर्खा ब्वाइज रुपन्देही रहने छन् ।

प्रतियोगितामा विजेतालाई १२ लाख ५० हजार र उपविजेतालाई छ लाख २५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको प्रत्येक म्याचमा म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने भएको छ भने विभिन्न विधागत पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

Facebook Comments