add
खेलकुद विशेष स्थानीय खबर

वर्षाका कारण अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपस्थगित

बिर्तामोड, ९ असोज । खराब मौसमका कारण झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप तत्कालका लागि स्थगित गरिएको छ । यही असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको थियो ।

निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो भएका कारण निर्धारित समयमा गोल्डकपका खेलहरु सञ्चालन गर्न असमर्थ रहेको भन्दै आयोजक जायोन स्पोर्टस् क्लबले बिहीबार रंगशालामै पत्रकार सम्मेलन गरेर स्थगित भएको जनाएको हो । आयोजक क्लबका प्रवक्ता अविनाश राईले गोल्डकपको सम्पूर्ण तयारी गकिए पनि खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नु परेको बताए ।

मैदानको अवलोकनपछि खेल प्राविधिकहरुको निचोड र मौसमविद्को पूर्वानुमानलाई मध्यनजर गरी खेल स्थगित गरिएको जानकारी दिँदै प्रवक्ता राईले खेल सञ्चालनका लागि कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको पनि बताए । उनका अनुसार अर्को मितिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गरिएको छ ।

कात्तिक २ गतेदेखि अर्को मिति तय भएको खण्डमा थ्री स्टार क्लब बंगलादेश जाने भएकाले मनाङ मस्र्याङदी क्लब वा सशस्त्र प्रहरी बलको एपीएफ टीम मैदानमा उतार्ने तयारी गरिएको पनि उनले बताए ।

प्राविधिकहरुका अनुसार मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्दा हिलो हुने, खेलाडी लड्न गइ चोटपटक लाग्ने सम्भावना बढी भएकाले पनि खेल स्थगित गरिएको उनको भनाइ थियो ।

प्रतियोगिताको तयारी पूर्ण अवस्थामा भएर पनि खेल स्थगित गर्नुपर्दा दुःख लागेको उनले सुनाए । तर, कात्तिकमा खेल सञ्चालन गर्दा पनि दर्शक नघट्ने उनले दाबी गरेका छन् । तिहार अगाडि नै सक्नेगरी लक्ष्य लिइएको उनले बताए । प्रतियोगिताको फाइनल खेल काग तिहारको दिन पर्नेछ ।

आयोजक क्लबका अध्यक्ष भक्त खवासले सबैको विश्वास जितेर तयारी सकिएको अवस्थामा खेल मौसमका कारण रोकिँदा नमज्जा लागेको बताए । अब अर्को मितिमा खेल हुने भएपछि केही आर्थिक क्षति व्यहोरेर भए पनि फेरि तयारी जुट्ने उनको भनाइ छ ।

Facebook Comments