add
राजनीति विशेष

सरकारले जनतामा निराशा ल्यायो: सिटौला

भद्रपुर, १५ असोज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बलियो जनमत पाएर पनि अलोकप्रिय बनेको वर्तमान सरकारले परिवर्तित राजनीतिक संरचनामा निराशा ल्याएको बताएका छन् ।

नेता सिटौलाले नेपाली कांग्रेस भद्रपुर–८ ले आयोजना गरेको शुभकामना आदान प्रदान तथा अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको पहिलो जन निर्वाचित सरकारले प्राप्त गरेको बलियो जनमतको सम्मान हुने उल्लेखनीय काम गर्न नसरकेर जनतामा निराशा छाएको आरोप लगाए ।

नेता सिटौलाले भने निर्वाचनका बेला केही गर्ने आशा पालेर विश्वास र भरोसाका साथ मतदानले भारी बहुमत दिएका केपी ओली राज्य सत्ता हात पारेपछि आफू त रोग मुक्त हुन सफल भए पनि देश सत्ताधारीको वेथितिले रोगी बन्न पुग्दा जनताले संघीय लोकतान्त्रिक गणतन्त्रबाट निराश हुनु पर्ने दिन आएको धारणा राखे । उनले विधि र प्रक्रिया मिचेर सरकार नेकपाको मात्र बन्न खोज्दा देश र जनताको हुन नसकेको भन्दै जनमत स्वेच्छाचारी प्रवृत्तिका लागि नभएकोले जनपक्षीय कामका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले देश र जनताको पक्षमा काम गर्न सरकारले खुट्टा कमाउनु नहुने धारणा राखे । नेता सिटौलाले स्वार्थरहित मानवीय आचरण विकास हुने प्रवृत्ति हरेक व्यक्तिमा हुन सके देश र जनताको भावना अनुकुल काम गर्न सकिने समेत बताए ।

कार्यक्रममा प्रदेश सांसद् ओमप्रकाश सरावगीले मन्तव्य राख्दै सरकार लोकतन्त्रलाई आफ्नो स्वार्थ अनुकुल उपयोग गर्न नियन्त्रणको बाटोमा हिँडेको धारणा राखे । उनले कांग्रेसको नेताहरू केन्द्रमा बसेर होइन जनताका घरघरमा गएर जनताका आवाज सुन्नु पर्ने समेत बताए ।

अग्रज कांग्रेसी नेता अम्बिकाप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमा वडा सभापति रत्नप्रसाद खतिवडा, सर्मिला अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन योगेन्द्र पौडेलले गरेका थिए ।

Facebook Comments