add
अर्थ विशेष स्थानीय खबर

झापाको बिर्तामोडमा १३ करोडको लगानीमा होटल ‘टाइमलेस मोमेन्ट्स’

बिर्तामोड, १५ असोज । झापाको बिर्तामोड नगरपालिका–१ स्थित पूर्ण टुंगमार्गमा रू १३ करोडको लागतमा होटल सञ्चालनमा आएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल ‘टाइमलेस मोमेन्ट्स’ सञ्चालनमा ल्याइएको होटल सञ्चालक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । ‘घुमफिर अन्य प्रयोजनका लागि आउने पर्यटक तथा व्यवसायीहरु व्यवस्थित होटल नहुँदा बास बस्न भारतको सिलिगुढी जाने गरेका छन्’, आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी होटल सञ्चालनको उद्देश्य बताउँदै उहाँले भन्नुभयो, ‘पर्यटकलाई लामो समयसम्म बस्न सक्ने वातावरण बनाउन पनि होटल सञ्चालनमा ल्याइएको हो ।’

१२ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा १२ वटा एसी डिलक्स रुम सहित ३२ वटा कोठा, स्वीमिङ पुल, एक सय जना अटाउने कन्फ्रेन्स हल रहेको छ । होटलको पहिलो तलामा इलामेली रिफ्रेसमेन्ट हाउस, दोस्रो तलामा सयपत्री डाइनिङ छ भने तेस्रो तलामा स्टारसिटी बार रहेको छ । त्यस्तै सबैभन्दा माथिल्लो तलामा साखेजुङ रुफटफ रहेको छ ।

लिफ्टको सुविधा रहेको होटलमा २४ सै घण्टा तातो र चिसो पानी आउने होटलका एसिस्टेन्ट मेनेजर दुर्गा बस्नेतले बताउनुभयो । होटलमा नेपाली मौलिक खाना, इण्डियन, चाइनिज लगायतका खानाका परिकार उपलब्ध छ ।

पर्याप्त मात्रामा पार्किङ क्षेत्र रहेको होटलमा विवाह, ब्रतवन्ध, पार्टी आयोजना गर्न सकिने छ भने प्रत्येक सोमबार, बुधबार र शुक्रबार लाइभ म्यूजिक प्रोग्राम हुने जनाइएको छ । होटलमा २५ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

Facebook Comments