add
स्थानीय खबर

क्यान्सरपीडित दाहालको सहयोगको अपिल

भद्रपुर, २६ असोज । बोनम्यारो क्यान्सर रोगबाट पीडित भएका भद्रपुर–९ का ४९ वर्षीय निर्मल दाहालको उपचारका लागि २१ हजार ७ सय ३० रूपैयाँ आर्थिक सहयोग जुटेको छ ।

आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको खबर सार्वजनिक भएपछि चन्द्रगढी सेवा समाजको पहल तथा कनकश्री टोल विकास संस्था भद्रपुर–८ को संयोजनमा संकलित रकम दाहाललाई हस्तान्तरण गरिएको हो ।

दाहालको उपचार सहयोगार्थ समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा संकलित ८ हजार २ सय ३० रूपैयाँ तथा कनकश्री टोलबाट संकलित १३ हजार ५ सय गरी २१ हजार ७ सय ३० रूपैयाँ दाहालको घरमै हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा चन्द्रगढी सेवा समाजका अध्यक्ष कमलप्रसाद अधिकारी, कनकश्री टोल विकासका कृष्ण कटुवाल लगायत शुभेच्छुक दाता महानुभावहरूको उपस्थिति रहेको थियो ।

कमजोर आर्थिक अवस्था भएका दाहाल पानी पुरी बेचेर जीवनयापन गरिरहेका थिए । हाल १५ दिनमा ४ पोका रगत चढाएर बाँचिरहेका दाहालले समाजको सहयोगले नयाँ जीवन पाउने आशा व्यक्त गरेका छन् ।

Facebook Comments