add
अर्थ विशेष स्थानीय खबर

भेलागुढी शहीद स्मृति पार्कमा ‘हल्दिबारी महोत्सव’ हुँदै

हल्दिबारी, २८ असोज । ‘फेरि पनि घुम्न जाउ, हल्दिबारी गाउँ’ भन्ने मुल नाराका साथ हल्दिबारी गाउँपालिकाको आयोजनामा काग तिहारको दिनदेखि छठ पर्वको भोलिपल्टसम्म हल्दिबारी महोत्सव हुने भएको छ ।

हल्दिवारी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउन महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिए । हल्दिबारी महोत्सवले यस क्षेत्रका धार्मिक तथा पर्यटकीय ठाउँहरु एसियाकै जैविक विविधता भएको जलथल जङ्गल, भेलागुढी शहीद स्मृति पार्क, धनुष पोखरी, पाथीभरा पर्यटकीय क्षेत्र, दुधकन्या तथा साकेला धार्मिक क्षेत्र लगायतका अन्य धार्मिक तथा सिमसार क्षेत्रको प्रचारप्रसार हुने उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए ।

महोत्सवमा यहाँका विभिन्न जातजातिका स्टलहरु हुनेछन् । सन्थाल, राजवंशी, मेचे, राई, लिम्बू, तामाङ, नेवार लगायत अन्य समुदायले आ–आफ्नो संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम गर्नुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिने कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

हल्दिबारी महोत्सवका लागि गाउँपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेको छ भने भेलागुढी सामुदायिक वन उपभोक्ता समूहलाई महोत्सवको तयारी गर्ने जिम्मेवारी दिएको छ ।

Facebook Comments