add
feat अर्थ विशेष स्थानीय खबर

झापामा एक अर्ब बढीको लागतमा अमरपथ सडक निर्माण शुरु

बनियानी, २४ कात्तिक । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक निर्माणको प्रक्रियामा गइसकेको बताउनुभएको छ ।

झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने अमरपथ सडक खण्डको शिलान्यास गर्दै मुख्यमन्त्री राईले त्यस्तो बताउनुभएको हो । ‘मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध भएर लागेको छ’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘सुखी र समृद्ध नेपाल निर्माणको महाअभियानलाई साकार पार्न सबै पक्ष लाग्नुपर्छ ।’

सरकारले प्रदेश नं. १ मा समेत चीन र भारतका धेरै नाकाहरु खोल्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राईले झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगलबैंकसम्म २४ किलोमिटर सडकको शिलान्यास गर्नुभएको हो । पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू १ अर्ब ४ करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७.८ किलोमिटरको रू ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडक खण्डको तुँदी रोशन मैनाचुली जेभीले रू ५७ करोडमा लिएको छ । उक्त सडकको ती वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

Facebook Comments