add
राजनीति स्थानीय खबर

करको दर होइन, सदुपयोग भए/नभएको हेर्नुपर्छ: अर्थमन्त्री आङ्वो

बनियानी, २४ कात्तिक । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो सरकारको बढाएको कर दर हेर्नुभन्दा पनि त्यसको सदुयोग भए÷नभएको हेर्नुपर्ने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज आन्तरिक राजश्व विभागद्वारा आयोजित ‘करमैत्री यात्रा’ कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री आङ्बोले सरकारले कर कति बढायो भनेर विश्लेषण गर्ने भन्दा पनि आफूले तिरेको करको सदुपयोग भएको छ कि छैन भनी करदाताले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

‘राजश्व नउठाई अर्थतन्त्र बलियो हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘देश समृद्ध बन्न करको भूमिका महत्वपूर्ण हुन्छ ।’ सरकारले सहज र लचिलो ढंगले कर तिर्ने वातावरण तयार गर्दै गएको उल्लेख गर्दै मन्त्री आङ्बोले सरकार जनताले तिरेको करको सदुपयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

आङ्बोले केही महिनाअघि लागू गरिएको भीसीटीएस प्रणाली (भेहिकल कन्साइन्टमेन्ट ट्रयाकिङ सिस्टम) नेपाली कर प्रणलीलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभयो । अर्थमन्त्री आङ्बोले भीसीटीएस समग्र राजश्वलाई राज्यको मूलधारमा ल्याउन र उद्योगी–व्यवसायीकै सुरक्षाका लागि पनि अनिवार्य रहेका उल्लेख गर्नुभयो ।

मन्त्री आङ्बोले अझै पनि राजश्वको करिब ४० प्रतिशत हिस्सा अर्थतन्त्रको मूल प्रवाहबाट बाहिर रहेको भन्दै त्यसलाई समेट्न करको दायरा फराकिलो बनाइएको स्पष्ट पार्नुभयो । आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपालको हास्यव्यङ्ग्यात्मक प्रस्तुति रहेको थियो ।

Facebook Comments