add
राजनीति स्थानीय खबर

नेपाली कृषिवस्तुको प्रशोधन कारखाना आवश्यकः पूर्व अर्थमन्त्री पाण्डे

अर्जुनधारा, २१ पुस । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा उत्पादन हुने बहुमूल्य कृषिवस्तुको प्रशोधन कारखाना स्वदेशमै स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ ।

विदेशी मुद्रा आर्जन गर्ने बहुमूल्य कृषिवस्तु अलैंचीको मूल्य लगातार ओरालो लाग्दै गएको प्रति चिन्ता व्यक्त गर्दै पूर्व अर्थमन्त्री पाण्डेले सबैखाले कृषि वस्तुको देशमै प्रशोधन कारखाना स्थापना गरी प्रशोधित वस्तु निर्यात गर्नुपर्ने बताउनु भयो ।

झापाको अर्जुनधारा नगरपालिकाले नगरभित्र गठित विभिन्न समितिका पदाधिकारीहरुका लागि आयोजना गरेको सपथग्रहण समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व मन्त्री पाण्डेले सबल अर्थतन्त्र नै देशको समृद्धिको मुख्य आधार भएकोले नेपाली अर्थतन्त्र उकास्न कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

दुई वर्ष अघिसम्म प्रतिमन १ लाखभन्दा माथि पुगेको अलैंचीको मूल्य घटेर प्रतिमन २५ हजारको हाराहारीमा आएपछि यसले समग्र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पारेको बताउँदै पूर्व मन्त्री पाण्डेले अलैंचीको प्रशोधन कारखानाका स्थापनाका लागि आफूले पनि पहल गर्ने र व्यवसायीले पनि पहल गर्नुपर्ने बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता पाण्डेले एउटा राजनीतिक क्रान्ति सफल भइसकेकोले अब आर्थिक क्रान्तिका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनु भयो ।

Facebook Comments