add
खेलकुद स्थानीय खबर

अर्जुनधारामा खेलाडीलाई नगदसहित सम्मान

अर्जुनधारा, २१ पुस । अर्जुनधारा नगरपालिकाले कराते खेलाडी एस्तर राईसहित फुटबल खेलमा विजेता बनेको नगरस्तरीय टिमलाई आइतबार नगदसहित सम्मान गरेको छ ।

गत महिना सम्पन्न १३औँ दक्षिण एसियाली गेम्स (साग)मा करातेको कुमुतेतर्फ कास्य पदक जितेकी अर्जुनधारा ५ कि एस्तर राईलाई नगद २५ हजार र ताम्रपत्रसहित सम्मान गरेको हो । नगरपालिकामा आयोजित खेलाडी सम्मान तथा सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नगर प्रमुख हरिकुमार राना र नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचेले उनलाई पुरस्कार तथा सम्मान गरेका हुन् ।

सोही कार्यक्रममा विजेता फुटबल टिमलाई पनि नगदसहित सम्मान गरिएको छ । दुई साताअघि सुरुंगामा सम्पन्न पालिकास्तरीय फुटबल प्रतियोगितामा अर्जुनधाराको टिमले उपाधि रक्षा गरेको थियो । दोस्रो पटक उपाधि रक्षा गरेको फुटबल टिमका खेलाडी तथा अफिसियललाई नगद ५ हजारका दरले एक लाख रुपैयाँ र एक थान टर्याकसुट प्रदान गरिएको छ ।

नगर खेलकुद विकास समितिको बैठकले विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रममा वडास्तरीय खेलकुद, युवा तथा कला, साहित्य र सांस्कृतिक समितिका पदाधिकारी, सदस्यलाई नगर प्रमुख रानाले सपथ ग्रहण गराएका थिए ।

Facebook Comments