बिर्तामोड, २७ पुस । डोमालाल राजवंशीले साविक अनारमनी–५ को १३ बिघा जग्गा २०२१ सालमा देवी गुठीलाई दान दिए । उनले गुठीलाई दिएको जग्गामा अहिले उनको योगदानलाई जीवन्त राख्न प्रस्तावित डोमालाल राजवंशी रंगशाला निर्माण गरिएको छ । तर, यो जग्गाको श्रेस्ता अहिले न देवी गुठीको नाममा छ, न त डोमालाल राजवंशी रंगशालाको नाममा नै कायम छ ।
भूमाफियाले गुठीको नाममा रहेको बहुमूल्य जग्गाको श्रेस्ता आफ्नो नाममा कायम गरेका छन् । सो जग्गा सरकार मातहल ल्याउन पत्रकार गणेश पोखरेलले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगमा उजुरी हालेका छन् । डोमालाल राजवंशी रंगशालाको सार्वजनिक जमिन बचाउन पोखरेलले आयोगका अध्यक्ष मोहनरमण भट्टराईलाई निवेदन पठाएर जमिन फिर्ता ल्याउन माग गरेका हुन् ।
सार्वजनिक जमिन व्यक्तिका नाममा पारेर हडप्ने क्रम बढेपछि सरकारले यसै वर्ष ‘सरकारी, सार्वजनिक र गुठीको जमिन संरक्षण सम्बन्धी जाँचबुझ आयोग’ गठन गरेको छ ।
डोमालाल राजवंशीको नाममा दर्ता कायम रहेको मुल्यवान १३ बिगाहा जमिनमध्ये ३ बिगाहा ५ कठ्ठा १३ धुर जमिन हत्याउन भू–माफियाले २०५३ सालदेखि चलखेल सुरु गरेको निवेदनमा उल्लेख छ । गुठी संस्थानका तत्कालीन अध्यक्ष खेम मैनाली र गणेश ओलीले देवी गुठीको जमिन राजगुठीमा लैजान मुख्य भूमिका खेलेको उनले उल्लेख गरेका छन् । स्थानीय दुर्गा मन्दिरलाई दान दिएको देवि गुठीको नाममा दर्ता रहेको जमिन व्यक्तिका नाममा नामसारी नहुने भएकाले राजगुठीमा लगेर नामसारी गराइएको निवेदनमा उल्लेख गरिएको छ । राजगुठीको जग्गाको मोहीले हक प्राप्त गनेर् कानुनी व्यवस्था थियो ।
सो जमिनमध्ये भूमाफियाले कित्ता नम्बर १२० को एक बिगाहा दुई कठ्ठा १० धुर, ८२२ को ६ कठ्ठा, ८२५ को १३ कठ्ठा र ८१५ को ७ कठ्ठा टीकादेवी बिमलीको नाममा दर्ता गराएका छन् । कित्ता नम्बर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार बिमलीको नाममा दर्ता गराइएको छ ।
सो जमिन आफूहरुको नाममा भएको भन्दै बिमली र महर्जन आएपछि मात्र स्थानीयबासीले भूमाफियाको षड्यन्त्र थाहा पाएका थिए । बिमली र महर्जनको समूहले सूर्य मगर र शान्तिदेवी खड्काको नाममा मोही हक खरिद गरेको बताएका थिए । सार्वजनिक सो जमिन व्यक्तिका नाममा पार्न नेपाल सरकारका तत्कालीन कर्मचारी केशब बिमलीले मुख्य भूमिका निर्वाह गरेको निवेदनमा उल्लेख छ । हाल उनी सह–सचिव पदमा कार्यरत कर्मचारी हुन् ।
उनकै सक्रियतामा सार्वजनिक जमिन व्यक्तिको नाममा दर्ता भएको निवेदनमा किटान गरिएको छ । मैनाली र बिमली लगायतको समूहले सूर्यकुमार बिमली, टीकादेवी बिमली र रमेश महर्जनको नाममा मोही खरिद गराएको आरोप लगाइएको छ । तत्कालीन देवी गुठीका अध्यक्ष मैनाली र ओलीले श्रेष्ठ र बिमलीहरुसँग मिलेर जालझेल गरेका थिए । स्थानीयबासीले सो थाहा पाएपछि अनारमनी गाविसका तत्कालीन उपाध्यक्ष लोकबन्धु कन्दङ्वाको संयोजकत्वमा आन्दोलन समिति र खगेन्द्र प्रसाईंको नेतृत्वमा संरक्षण समिति बनाएका थिए । आन्दोलनपछि श्रेष्ठ र बिमलीहरु मोही नभएको र अख्तियारको दुरुपयोग गरेको भन्दै पहिले डोमालाल राजवंशीले मन्दिरलाई दान दिएको जग्गामा भूमाफियाले चलखेल गरेको ठहर गरी मालपोतले मोही रद्द समेत गरेको थियो ।
माफियाहरुले सुरुमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेका थिए । त्यहाँ उनीहरुले जितेपछि संरक्षण समितिले मुद्दा पुनरावेदन अदालत पाटन पु¥याएको थियो । पुनरावेदन अदालत पाटनले भूमाफियाको षड्यन्त्र थाहा पायो र मोही कायम नहुने फैसला ग¥यो । त्यसपछि उनीहरु सवोर्च्च पुगेका थिए । तर, संरक्षण समितिका अध्यक्ष नेकपा मालेका तत्कालीन पोलिटब्यूरो सदस्य समेत रहेका खगेन्द्र प्रसाईंले माफियासँग मिलेर पुनरावेदनको म्याद गुजारेको आरोप लगाइएको छ ।
सवोर्च्च अदालतका न्यायाधीशद्वय गौरी ढकाल र राजेन्द्रप्रसाद कोइरालाको इजलासले २०६६ फागुन ९ गते नै अनारमनी दुर्गास्थान राजगुठीको नाममा रहेको जग्गा भन्दै सूर्यकुमार बिमली, टीकादेवी बिमली र रमेश महर्जनको नाममा मोही कायम गराउन फैसला गरेको थियो ।
अदालतको मुद्दा शाखाले मालपोत कार्यालय झापालाई फैसलाको तीन महिनापछि अर्थात् २०६७ बैशाख ३० गते मोही कायम गरिदिन पत्राचार गरेको थियो । मालपोतले त्यसको तीन महिनापछि मात्र तत्कालीन गाउँ विकास समितिलाई पत्राचार गरेको थियो । पत्राचारको शृंखलालाई षड्यन्त्र मान्न सकिने आधार रहेको उजुरकर्ता पोखरेलको दाबी छ ।
गुठीको नाममा रहेको जग्गा भूमाफियाले हडपेको विषय स्थानीय तहको चुनावमा राजनीतिक दलको राम्रै चुनावी मसला बनेको थियो । दलका उम्मेदवारले आफूले हारे पनि जिते पनि सो जग्गा गुठीकै नाममा फर्काउने र रंगशालालाई अझ व्यवस्थित र गुणस्तरीय बनाउने पेचिला भाषण गरिरहँदा स्थानीयले गुठीको जग्गा गुठीकै नाममा कायम हुने विश्वास पनि गरेका थिए । तर, चुनावपछि यो मुद्दाले ठाउँ पाउन सकेको छैन ।
राजनीतिक दलका स्थानीय नेताले देवी गुठीका नाममा रहेको सार्वजनिक सम्पत्ति व्यक्तिले हडप्दासमेत पहल नगरेको स्थानीयको अरोप छ । झापा गोल्डकपको तेस्रो संस्करणको पुरस्कार वितरण समारोहमा आइपुगेका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले रंगशाला भएको जग्गा व्यक्तिको नामबाट फर्काउने आश्वासन दिएका थिए । तर, उनको आश्वासन पनि भाषणमै सीमित रह्यो । अहिलेसम्म देवी गुठीको नाममा रहेको जग्गा जोगाउने प्रयास कहीँकतैबाट भएको देखिँदैन ।
झापा गोल्डकपको चौथो संस्करणको समापन कार्यक्रममा झापा क्षेत्र नं. २ का प्रदेश सांसद् एकराज कार्कीले देवी गुठीको नाममा रहेको जग्गा रंगशालाको नाममा ल्याउन स्थानीय तहले प्रयास गर्नुपनेर् बताएका थिए । प्रदेश सरकारले रंगशालालाई सहयोग गनेर् आश्वासन दिँदै उनले नगरपालिकाले सो जग्गा आफ्नो मातहतमा ल्याउनुपनेर् बताए । तर, कहीँकतैबाट सो जग्गा रंगशालाको नाममा ल्याउने प्रयत्न भएको देखिँदैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।