विशेष स्वास्थ्य

स्वास्थ्य चौकीको भवन निर्माणसँगै स्थानीय हर्षित

add

सान नेपाल
गौरादह, १६ साउन । गौरादह नगरपालिका वडा नं. ७ स्थित स्वास्थ्य चौकी जुरोपानीको भवन निर्माण कार्य सम्पन्न हुन लागेसँगै स्थानीयहरु हर्षित भएका छन् ।

तत्कालीन जुरोपानी गा.वि.स को ग्वालडुब्बामा स्वास्थ्य चौकी भवन निर्माणका लागि आवश्यक जग्गाको व्यवस्था नभएकाले भवन निर्माण गर्न सकिएको थिएन । स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयबासीले निःशुल्क जग्गा प्रदान गरेसँगै भवन निर्माणले गति लिएको हो ।

स्थानीय रोसन श्रेष्ठ, प्रदिप श्रेष्ठ ४ कट्ठा र अमर बहादुर विष्ट ३ कट्ठा सहित जम्मा ७ कट्ठा जग्गा निःशुल्क प्राप्त भएको थियो । स्वास्थ्य चौकी भवन निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले १ करोड ९५ लाख ३ हजार रुपैयाँ विनियोजीत गरेपछि भवन निर्माण गर्न सहज बनेको हो ।

भवन निर्माण गर्न एल.पी.एस. आशिष जेबिले जिम्मा पाएको थियो । आशिष जेबि ले २०७४ असार २८ गते निर्माण कार्यको सम्झौता गरी २०७५ असोज मसान्त सम्ममा सम्पन्न गर्ने सम्झौता गर्ने भएको निर्माण कम्पनीका ठेकेदार केशव रिजालले जानकारि गराए ।

सम्झौता अनुसार भवन मा ७ वटा टवाइलेट, बाथरुम, इमरजेन्सी सेवा तथा अन्य उपचार कक्षका कोठाहरु सहित २ तले भवन निर्माण हुने र भवन २२ मिटर लम्बाई र ११ मिटर चौडाईको रहने जनाइएको छ । शहरि विकास तथा डिभिजन कार्यालय इलामले समयमा रकम निकासा नगरेको र रकम अभावका कारणका पनि निर्माण कार्य नरोकि तोकिएको समय अगाडि नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको ठेकेदार रिजालले दाबी गरे ।

भवन को छत ढलान र दिवाल लगाउने कार्य सम्पन्न भई प्लाष्टर गर्ने कार्य सञ्चालन भइरहेकाले निर्माण कार्य अन्तिम चरणमा पुगि सक्दा समेत रकम निकासा नहुँदा निर्माण कार्यमा अवरोध आउन सक्ने निर्माण जेबिका इञ्चार्ज सन्तोष खरेल बताउँछन् ।

बिरामीहरुलाई उपचार गरिँदै आएको जुरोपानी स्वास्थ्य चौकी भवन ७२ सालको भुकम्पका कारण जीर्ण बनेपछि स्वास्थ्य चौकी भवनबिहीन बनेको थियो । भवन अभावका कारण गौरादह नगरपालिका वडा नं. ७ को वडा कार्यालयमा स्वास्थ्य चौकी स्थापना गरी बिरामीहरुको उपचार गरिँदै आएको छ ।

वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भिंड र बिरामीहरुको जमघटका कारण उपचार गर्न असहज बनेको स्वास्थ्य चौकीका अहेब टेकप्रसाद अधिकारीले बताए । बिरामीहरुको उपचा लाई सहज बनाउन स्वास्थ्य चौकी भवन निर्माण कार्य तीव्र गतिमा भइरहेकाले आगामी मंसिर महिनाबाट नयाँ भवनबाट सेवा लिन सकिने स्थानीय राजजङ्ग बस्नेतले बताए ।

Facebook Comments