add
विशेष स्थानीय खबर

किशोरीको अवस्था विक्षिप्त : विवाहको प्रलोभनमा यौन शोषण

add

प्रदीप परियार
राजगढ, १६ साउन । विवाहको प्रलोभन परेर यौन शोषणमा परेकी झापा राजगढकी एक किशोरीले मानसिक सन्तुलन गुमाएकी छन् ।

सामान्य जीवनमै रहँदा उनले स्थानीयलाई समेत विवाह गर्ने भएकाले आफुहरुविच सम्वन्ध रहेको सुनाएकी थिइन् । विवाह गर्ने विश्वासमा दुईवर्षदेखि उनीहरुविच शारिरीक सम्पर्क हुदै आएको थियो । बाह्रदशी गाउँपालिका–१ सिप्ताबस्तीकी मुस्लिम किशोरीलाई स्थानीय ४८ वर्षीय अमिन मियाले विवाह गर्ने प्रलोभनमा पारेर यौन शोषण गर्दै आएको पीडितको भनाई छ । मिया विवाहित पुरुष हुन् । गाउँमा पशुचौपायको व्यवसाय गर्दै आएका अमिनले १८ वर्षीय किशोरीलाई बेलाबखत सरसहयोग गर्देै विवाह गर्ने विश्वास दिलाएको स्थानीयवासी बताउँछन् ।

स्थानीयका अनुसार दुई वर्षअघि देखि उनीहरुको विचमा हिमचिम बढेको थियो । स्थानीयले चासो दिएपछि अमिनको श्रीमतीले समेत विवाह गर्नेे आश्वासन दिएको गाउँले बताउँछन् । स्थानीयका अनुसार विवाह गर्नुपर्ने किशोरीको आग्रहलाई अमिनले अस्वीकार गरेपछि किशोरीको अवस्था विक्षिप्त बन्दै गएको हो । किशोरीका आफन्तले विवाहको प्रलोभनमा यौन शोषण गरेको भन्दै इलाका प्रहरी कार्यलय राजगढमा फुलमन खातुन र मसुद मियाले उजुरी पनि दिएका छन् । प्रहरीले पक्राउ गरेर उनलाई सोमवार जिल्ला प्रहरी कार्यलय पठाएको इप्रकाले जनाएको छ । यौन शोषण गरेको आरोपमा अमिन यतिबेला थुनामा छन् । यता,किशोरीको दिनचर्या अनियन्त्रित र विक्षिप्त बन्दै गएको छ ।

विवाह हुने विश्वासमा सम्बन्ध बनाएकी ति किशोरी अहिले मानसिक सन्तुलन गुमाएको अवस्थामा छिन् । जुनसुकै बेला नुहाउने,रातीको समयमा हिडडुल गर्ने,अनावश्यक रुपमा बोलिरहने, बच्चालाई कुटपिट गर्ने व्यवहार प्रकट गरिरहेको उनका आफन्तले बताए । पीडितलाई अमिनसँगै विवाह गराउने र नगराउने भन्ने विषय नै गाउँमा विवाद भएकाले किशोरी थप अन्यायमा परेकी छन् । मानसिक समस्यामा रहेकी किशोरी अमिनको नाम लिँदै उनीसँग विवाह गर्ने भन्दै दौडिरहेकी भेटिन्छिन् ।

उनको अवस्था बुझ्न अधिकारकर्मी दिपक दास,स्थानीय अगुवा देवीप्रसाद ओझा र इप्रका राजगढका इञ्चार्ज मंगलवार विहान उनको आफन्तको घरमा पुगेका थिए । पीडित किशोरीको बुबाको निधन भइसकेको छ । आमा विरामी भएर ओच्छ्यानमा छिन् । बोल्न नसक्ने आमालाई छोडेर पीडित किशोरी मंगलवार राती आफन्तको घरमा पुगिन् । विवाहको विषयले उनीमाथि नै कुटपिट समेत भइरहेकाले हिंसा बढेपछि घर छोडेर आफन्तकोमा गएकी हुन् ।

अवस्था बारे जानकारी लिन पुगेका अधिकारकर्मी दासले किशोरी माथि भएको घटनाको भत्सर्ना गरेका छन् । किशोरीलाई न्याय दिलाउँन माग गर्दै पहिलो चरणमा उनको उपचार आवश्यक रहेको बताएका छन् । असाहय र पीडित किशोरीको उद्दारमा काम गरिरहेको संस्थाको सहयोगमा उनलाई उद्दार गरेर उपचारको वातावरण बनाउन आफन्तसँग छलफल भएको दासको भनाइ रहेको इजलास दैनिकमा खबर छ ।

Facebook Comments