विशेष स्थानीय खबर

भ्रमण वर्ष २०२० : अर्जुनधारामा पर्यटन प्रवद्र्धन अभियान

नन्दलाल खतिवडा
बिर्तामोड, ३ फागुन ।
झापाको अर्जुनधारा नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न स्थानीयस्तरबाटै अभियान सुरु गरेको छ ।

आन्तरिक पर्यटनलाई चलायमान बनाउँदै बाह्य पर्यटकलाई नगरमा भित्र्याउने उद्देश्यले नगरपालिकाको यहाँका सबै वडाबाट वडास्तरीय अभियान सञ्चालन गर्न लागेको हो । नगर प्रमुख हरिकमुार रानाले भ्रमण वर्षलाई सफल बनाउन वडास्तरबाटै थालनी गरेर नगरस्तरीय अर्जुनधारा महोत्सव गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

‘पहिलो चरणमा आन्तरिक पर्यटकीयस्थललाई प्रवद्र्धन गर्ने अभियान चलाउँछौँ’, प्रमुख रानाले भन्नुभयो, ‘नगरमा भएका पर्यटकीयस्थलसँगै धार्मिकस्थलका बारेमा थप जानकारी दिन महोत्सव गर्छौं ।’

नगरका ११ वटा वडामा आयोजना हुने वडास्तरीय कार्यक्रम प्रत्येक दिन प्रदेश सरकारका मन्त्रीले उद्घाटन गर्ने छन् । फागुन ४ गते ७ नम्बर वडाबाट सुरु गरिने वडास्तरीय कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की आउने र फागुन १५ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुशियतको उपस्थितिमा कार्यक्रमको समापन हुने नगर प्रमुख रानाले बताउनुभयो ।

महोत्सवताका प्रदेश प्रमुख, मुख्यमन्त्री र संघीय मन्त्रीलाई निम्त्याएर अर्जुनधाराको पर्यटकीयस्थलको अवलोकन गराएर आन्तरिक पर्यटनको प्रवद्र्धन गरिनेछ ।

१ नम्बर प्रदेशका ७ जना सांसद् अर्जुनधारा नगर महोत्सवमा प्रत्यक्ष अवलोकन गर्न आउने भएका छन् । वडा नम्वर १ मा सांसद् अम्बिरबहादुर गुरुङ, वडा नं. २ मा राम राना मगर, वडा नं. ३ मा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, वडा नं.४ मा रामबहादुर राना, वडा नं. ५ को कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर आउने भएका हुन् ।

त्यस्तै, वडा नं. ६ मा धर्मशीला चापागाईं, वडा नं. ११ मा पवित्रा निरौला खरेल, वडा नं १० मा झलकसिंह दर्लामी, वडा नं. ९ मा विर्ख प्रधान र वडा नं. ८ मा सांसद् जगदिशचन्द्र कुशियत महोत्सवको अवलोकन गर्न आउने भएका छन् ।

वडास्तर कार्यक्रममा खेलकुदका ९ विधा र भाषा, कला, साहित्य संस्कृतिका ८ वटा विधालाई समेटिएको छ । आसन्न राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरी विद्यालयस्तरका प्रतियोगितालाई पनि समेटिएको नगर प्रमुख रानाले बताउनुभयो ।

वडास्तर कार्यक्रममा योजना, पशु, कृषि, स्वास्थ्यलगायतका विषयगत शाखाबाट उपलब्ध हुने सेवाका बारेमा शिविरमार्फत जानकारी र सेवा दिइने नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताउनुभयो ।

प्रत्येक वडाको महोत्सवमा गोवर जाँच, पशु बन्ध्याकरण, कृतिम गर्भाधान, प्राविधिक परामर्श, अभिमुखिकरण, बाली उपचार, विषादी वितरण, कृषि प्रविधि सम्बन्धी ब्रोसर वितरण, माटो परिक्षण लगायत नगरका योजनाका विषयमा जानकारी गराइने जनाइएको छ । वडास्तरीय कार्यक्रम गर्न प्रत्येक वडालाई नगद २ लाख रुपैयाँ खर्च विनियोजन गरिएको छ ।

Facebook Comments