अर्थ विशेष

भद्रपुरका व्यापारीको निंद हराम : घोष जेल चलान

add

झापा, २३ साउन । झापा भद्रपुरका व्यापारी सञ्जीव घोष पक्राउ परेसँगै यहाँका व्यापारीको निंद (निन्द्र) हराम भएको छ ।

कर छलेको आरोपमा घोष पक्राउ परेपछि कर छल्न माहिर व्यापारीको निंद हराम भएको हो । प्रहरी प्रशासनसँग ‘लेनादेना’ गरेर कालोधन्दा गर्दै आएका व्यापारीले अब सोच्ने बेला आएको जानकारहरु बताउँछन् ।

सरकारले कर असुलीमा कडाइँ गरेपछि व्यापारी पक्राउ पर्ने मात्र होइन, कर्मचारीलाई समेत मुस्किल परेको छ । राजश्व असुली हुने देशभरका कार्यालयका कर्मचारी त्राहिमाम भएका छन् ।

अरु त अरु सिमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडी समेत पारी टपाउने काम भइरहेको छ भने आफू सुकिलो देखिन र बच्न राजनीति शक्ति केन्द्रमा शरण पर्न जानेको लर्को लागेएको स्रोतले जनाएको छ । ती स्रोतका अनुसार अहिले केही व्यापारी ‘जान बचे तो लाख उपाय’ भन्दै जे पनि गर्न तयार भएका छन् ।

यता, राजश्व छलीका आरोपमा पक्राउ परेका झापा भद्रपुरका व्यापारी सञ्जीव घोषले धरौटी रकम तिर्न नसकेपछि कारागार चलान भएका छन् ।

राजश्व छल्न नक्कली भ्याट बिल (मूल्य अभिबृद्धि कर) प्रयोग गरी अबैध ारोबारको आरोपमा पक्राउ गरी राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले प्रारम्भिक अनुसन्धानको क्रममा १ करोड ५७ लाख धरौटी रकम बुझाउन माग गरेपछि तिर्न नसक्दा घोष कारागार चलान गरेको हो ।

उनीसहित तीन जना कारागार चलान भएका छन् । झापा भद्रपुर बजारमा सञ्चालित शिव स्टोरका सञ्चालक सञ्जीव घोष र उनका सहयोगी भद्रपुरकै मोहम्मद युवराम मियाँ र चालक विकास विश्वकर्मालाई मङ्गलबार कारागार चलान गरिएको राजश्व अनुसन्धान पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीका प्रमुख जयबहादुर भण्डारीले जानकारी दिए ।

अनुसन्धान गर्दै जाँदा उक्त रकम देखिएकाले आरोपितले बुझाउन नसक्ने बताएपछि तीन जनालाई कारागार पठाइएको भण्डारीले जनाए । कारागारमा राखेर उनीहरुको कारोबारमाथि थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ । पक्राउ परेपछि सुनसरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीले एक हप्ता अघि घोषका दुई सहयोगीलाई कुर्था सुरुवाल बोकेकोे मे १ च ३०४९ नम्बरको सेतो रङको मारुती भ्यानमा भन्सार तथा राजस्व छलीका कपडाहरु इटहरी बसपार्कमा जिल्ला प्रहरी कार्यलय सुनसरीले बरामद गरेको थियो ।

सूर्या इन्टरप्राइजेज नरदेवी काठमाण्डौको नामको बिलबिजकको ठेली सहित ८ लाख ६५ हजार ७ सय ८० रुपैयाँ मूल्य बराबरको अबैध कपडा राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीमा प्रहरीले बुझाएको थियो । अनुसन्धानको क्रममा घोषको नाम आएपछि राजस्व कार्यालयले व्यापारी घोषलाई पक्राउ गरेको थियो । घोषले एउँटै नम्बरका भ्याट बिल ५ वटा सम्म बनाएको फेला परेको कार्यालयले जनाएको थियो ।

Facebook Comments