विशेष स्थानीय खबर

प्रदेश १ को सुरक्षा व्यवस्था मजबुद बनाउन यस्तो छ रणनीति

सन्तोष शर्मा ।
झापा, २३ साउन । प्रदेश नं. १ का २७३ स्थानमा सीसी क्यामेरा जडान गरिने भएको छ ।

प्रदेश सरकारले सुरक्षा व्यवस्था मजबुृद बनाउन मेचीदेखि कोशीसम्म २७३ स्थानका चोक–बजारमा सीसी क्यामेरा जडान गर्ने भएको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जडान गरिएको सीसी क्यामेराबाट स्थानीय प्रहरीले निरीक्षण गर्नेछन् ।

‘प्रदेशको सुरक्षालाई व्यवस्थित र मजबुद बनाउने काममा प्रदेश सरकार लागेको छ’, रासससँग उहाँले भन्नुभयो, ‘बजेट विनियोजन गर्ने, स्थानीय तहसँग सहकार्य गर्ने विषय गृहकार्य अघि बढाइएको छ ।’

प्रदेश सरकारले प्रहरीलाई प्रविधिमैत्री बनाउने भएको छ । सुरक्षा व्यवस्था मजबुद बनाउनका लागि जनशक्ति थप गर्नेभन्दा पनि आधुनिक प्रविधिमा प्रहरीको पहुँच अभिबृद्धि गरिने मन्त्री कार्कीले बताउनुभयो ।

प्रदेश सरकारले १४ वटै जिल्लाका २०० वटा प्रहरी चौकीलाई मोटरसाइकल, १४ वटै जिल्ला प्रहरीलाई एक÷एक वटा प्रहरी भ्यान उपलब्ध गराउने भएको छ । त्यस्तै, हाल १५ वटा रहेको ‘बीओबी’को संख्या बृद्धि गरी ३७ वटा बनाइने मन्त्री कार्कीले जानकारी दिनुभयो ।

‘प्रदेश सरकारले सुरक्षा निकायलाई जनतासँग नजिक बनाउने किसिमको काम गर्दैछ’, मन्त्री कार्कीले भन्नुभयो, ‘पुलिस देखेर जनता भाग्ने होइन, सहयोगी हो भनेर नजिक आउने वातावरण बनाउन आवश्यक छ ।’ झापा प्रहरीलाई नमूना प्रहरी बनाउनका लागि बजेटसमेत विनियोजन भइसकेको मन्त्री कार्कीले बताउनुभयो ।

Facebook Comments