विशेष स्थानीय खबर

बलात्कारीलाई फाँसी नै दिनुपर्ने माग गर्दै बिर्तामोडमा वृहत् प्रदर्शन

सन्तोष शर्मा
झापा, २३ साउन । बलात्कारका घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा आज वृहत् विरोध प्रदर्शन गरिएको छ ।

झापालगायत देशभर यौनजन्य हिंसाका घटना बृद्धि भएपछि त्यसको विरोध गर्दै नेपाली आमा समूहको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो । यसै साता मात्र झापाको अर्जुनधारा नगरपालिकामा दुई जना बालिका यौनजन्य हिंसामा परेका थिए ।

बिर्तामोडको शनिश्चरे रोडबाट शुरु भएको विरोध ¥याली बिर्तामोड क्षेत्रको परिक्रमापछि मुक्तिचोकमा कोणसभामा परिणत भएको थियो । ¥यालीमा ‘बलात्कारीलाई फाँसी नै भनौँ’, ‘आफ्नो छोरीचेलीको सुरक्षा गरौँ’, ‘हाम्रो छोरी समाजमा पुजिनुपर्छ, मारिनु हुँदैन’, ‘महिलाहरु मोजमस्तीका चिज होइनन्, उनीहरुलाई सम्मान गर्न सिकौंँ’ लगायतका नारा लेखिएको व्यानर तथा पम्प्लेट प्रदर्शन गरिएको थियो ।
कोणसभामा बोल्दै जय नारी झापाकी सावित्री सुवेदीले बलात्कारका घटनामा संलग्न दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्ने बताउनुभयो । ‘जबसम्म कानूनी रुपमै कडा दण्डको व्यवस्था हुँदैन, तबसम्म यस्ता घटनामा कमी आउँदैन’, उहाँले भन्नुभयो, ‘संविधानमै बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गरिनु पर्छ ।’

कडा कानून नभएकैले दोषीहरु उम्किने र हिंसा गर्नमा प्रोत्साहित हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नभए कुनै छोरी चेली सुरक्षित रहँदैनन् ।’ पीडितलाई न्याय दिनुको सट्टा घटना मिलाउन प्रहरीले दबाब दिने गरेको सुबेदीले आरोप लगाउनुभयो ।
महिला अधिकारकर्मी देवकला प्रसाईंले महिला हिंसाविरुद्धको अभियानमा स्थानीय सरकार संवेदनशील र गम्भीर नभएको आरोप लगाउनुभयो । ‘यति धेरै घटना भइरहेका छन्, कुनै दिन मिडियामा समाचार नआएको अवस्था छैन’, उहाँले भन्नुभयो, ‘गाउँघरमा सिंहदरबार भन्ने कुरा हुन्छ, खोइ त अपराधीलाई काबारही र पीडितलाई न्याय ।’ जनप्रतिनिधिका रुपमा धेरै महिला निर्वाचित भए पनि महिला हिंसा न्यूनीकरणको सवालमा कुनै पहल नभएको उहाँको आरोप छ ।

कोणसभामा गत स्थानीय तहको चुनावमा अर्जुनधारा नगरपालिकामा उपाध्यक्ष पदमा उम्मेद्वार बन्नुभएकी सरस्वती सिटौलाले महिला हिंसाका घटना तीब्र भइरहँदा पनि संसदमा कुरा उठ्न नसकेको चिन्ता व्यक्त गर्नुभयो । ‘महिलामाथि पाशविक व्यवहार भइरहेको छ’, उहाँले भन्नुभयो, ‘तर, संसद्मा कुरा उठ्दैन, महिला समानताको कुरा गरेर मात्र हुँदैन ।’

त्यस्तै, नेपाली आमा समूहकी झापा अध्यक्ष राजकुमारी शेर्पा राईले महिला हिंसा अत्यका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गर्नुभयो । ‘दिनदहाडै नाबालकदेखि बृद्धामाथि यौन हिंसा भइरहेको छ’, उहाँले भन्नुभयो, ‘सरकारले यस विषयमा गम्भीर हुनुपर्छ ।’
बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई कुनै पनि पक्षबाट उन्मुक्ति दिनु नहुने बताउँदै उहाँले त्यस्ता कार्यको विरोधमा देश नै आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो । ‘झापालाई दुख्दा काठमाडौँलाई पनि दुख्नुपर्छ, काठमाडौँलाई दुख्दा झापालाई पनि दुख्नु पर्छ’, उहाँले भन्नुभयो, ‘देशका कुनाकाप्चामा समस्या हुँदा सबैले त्यसलाई आफ्नो समस्या सम्झनुपर्छ ।’

विरोध प्रदर्शनमा एबीसी, वीरता जेसीज, दाह्री ग्यांग, बिएसडब्लू विद्यार्थी लगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।

Facebook Comments